समाज

‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

काठमाडाैं- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ। अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।

साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ। ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उनले बताए। तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए। पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने उनले बताए।

भाँचिएको पुल मर्मतका लागि भने केही समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताए। पुलको तल्लो सतहबाटै मर्मत गर्नुपर्ने भएकाले तत्काल  पूर्णरूपमा पुलबाट यातायात सञ्चालन गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी गराएको उनकाे भनाइ छ।

आज बिहान ना६ख ४७१ नम्बरकाे ट्रक पुलमा ठोक्किँदा पुलको  एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले यातायात अवरुद्ध बनेको थियो। अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी  निरीक्षक अधिकारीले बताए। रासस

प्रकाशित: २९ श्रावण २०७६ ०५:१८ बुधबार

‘डाइभर्सन’ यातायात नवलपरासी