समाज

नगर अधिकृतको गाडीले भारतीय नागरिकको मृत्यु

रौतहट  – बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करले मंगलबार भारत बिहार सीतामढी जिल्लाको पिपराढीका ६० वर्षीय विन्देश्वर दासको मृत्यु भएको छ।  सदरमुकाम गौरबाट बौधीमाई नपातर्फ जाने क्रममा राजपुर नपा–२ स्थित डाइभर्सनमा बिआर३२पिए १५४१ नम्बरको भारतीय स्कारपिओ जिप ब्याक गर्ने क्रममा ठक्कर लाग्दा दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

ठक्कर दिने जिप र चालक गौर नपा–४ का राकेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्रबहादुर खत्रीले बताए।

बौधीमाई नगरपालिकाले सवारीसाधन खरिद नगरीकन प्रमुख प्रशासकीय अधिकृतलाई चढ्नका लागि भारतीय नम्बरको जिप भाडामा उपलब्ध गराएको बुझिएको छ।  मंगलबार बिहान कार्यालय जाने समयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद चन्द्रवंशी चढ्ने भारतीय जीप जाममा परेपछि मोटरसाइकलले कार्यालय पुगेका थिए।  जामबाट नै गाडी ब्याक गर्ने क्रममा दासलाई ठक्कर लागेको थियो।

प्रकाशित: २९ श्रावण २०७६ ०१:२२ बुधबार

भारतीय_नागरिक मृत्यु