समाज

मातृभाषा जोगाउन चुनौती

कोङा बालेर अन्तरक्रिया कार्यक्रम उद्घाटन गरिँदै।

नुवाकोट - विभिन्न जनजातिको मातृभाषा बचाइराख्न चुनौती रहेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताले बताएका छन्।  महासंघको २०औं स्थापना दिवसको अवसर पारी सोमबार आयोजित सो कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जनजातिका भाषा जोगाउन राष्ट्रिय स्तरबाटै पहल गरेको भए पनि पुस्ता हस्तान्तरण हुन नसक्दा ती भाषा लोप हुने अवस्थामा पुगेको जानकारी दिए।

 २०६८ सालको जनगणनाअनुसार नेपालमा १ सय २३ मातृभाषा बोल्ने जाति रहेको तथ्यांक सार्वजनिक भएको थियो।  तापनि अहिलेसम्म ती जातिको मातृभाषा तथ्यांकमै सीमित रहेको पाइएको वक्ताहरूले सुनाए।

सरकारी कामकाजमा नेपाली भाषा प्रयोग गरिए पनि देशभर छरिएर रहेका विभिन्न जनजातिका आ–आफ्नै मातृभाषा छन्।  २०६८ सालको जनगणनाअनुसार नेपालमा १ सय २३ वटा मातृभाषा बोल्ने जाति रहेको तथ्यांक सार्वजनिक भएको थियो।  तापनि अहिलेसम्म ती जातिको मातृभाषा तथ्यांकमै सीमित रहेको पाइएको वक्ताहरूले सुनाए।  ‘आफ्नो जातिको पहिचानका लागि ठूलै आन्दोलन गरियो, भाषा र संस्कृति जगेर्नाका लागि।  अघिल्लो पुस्ताले बोल्ने गरेको भाषा पछिल्लो पुस्ताले जेनतेन बुझ्ने तर बोल्न नआउने अवस्था सिर्जना भएको छ।  आफ्नो मातृभाषा सिकाउनुको सट्टा विदेशी भाषा पैसा तिरितिरी सिकाइन्छ,’ प्रमुख तामाङले भने, ‘आफ्नो भाषा बोल्ने दुई/चारजना भेटियो, आफ्नै भाषा बोलिन्छ तर हाम्रो विपक्षमा बोलिरहेको छ भन्ने लाग्छ क्यार भाषा नबुझ्नेहरूले अर्कै सोच्छन्। ’

नुवाकोटमा राई, मगर, भुजेल, कुमाल, नेवार, तामाङ, माझी, दनुवार, शेर्पा, बराम, गुरुङ, ह्योल्मो, घले र बलामी गरी १४ प्रकारका जनजाति बसोबास गर्दै आएको महासंघ जिल्ला समन्वय परिषद् नुवाकोटका अध्यक्ष भगवान् राना मगरले बताए।  उनीहरूको भाषा र संस्कृतिको उत्थानको समन्वयात्मक भूमिका निभाउन प्रयत्न भइरहेको उनले बताए।

जिल्लामा भाषाविज्ञ नहुँदा स्थानीय सञ्चारमाध्यममा सम्बन्धित भाषाका कार्यक्रम र समाचार प्रसारण र प्रकाशन गर्न समस्या भइरहेको पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का सदस्य रामहरि गजुरेल, प्रेस युनियन जिल्ला शाखा नुवाकोटका अध्यक्ष किरण अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद धु्रव रावललगायतले जिल्लामा पत्रकार नै मिडियाको मालिक बन्ने होड चलिरहेकाले आफ्नो मिडियामा लोप हँुदै गएको भाषा र संस्कृतिको उत्थानमा भाषिक कार्यक्रम र समाचारलाई स्थान दिनुपर्ने बताए।

प्रकाशित: २८ श्रावण २०७६ ०१:४२ मंगलबार

मातृभाषा चुनौती