समाज

घुस मागेको अभियोगमा मुद्दा

काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका सिरहाका इञ्जिनीयर जगदीशप्रसाद साह र सवइञ्जिनीयर उमा श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज बनाइदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ। उनीहरुलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै डिभिजन सडक कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेलविरुद्ध समेत विशेष अदालतमा आयोगले आज मुद्दा दायर गरेको छ। सडक स्तरोन्नतिसम्बन्धी योजनाको भुक्तानी गरिदिए वापत एक लाख ७५ हजार रुपैयाँ घुस मागेको आरोप पौडेलमाथि लागेको छ।

त्यस्तै आयोगले सशस्त्र प्रहरी बल नं ४ गण इनरुवाका सशस्त्र प्रहरी जवान बलराम यादवविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ। व्यापार व्यवसाय सहज बनाइदिने भन्दै सेवाग्राहीसँग यादवले  एक लाख ५० हजार रुपैयाँ घुस मागेको आरोप लागेको छ।

यसैगरी आयोगले रामनगर नगरपालिका सर्लाहीमा कार्यरत इञ्जिनीयर रामजीबाबु यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ। विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कन गरिदिने र भुक्तानी सहज बनाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोप इञ्जिनीयर यादवमाथि लागेको छ। आरोपी यादवलाई बिगो अनुसारको जरिवाना र कैद सजायको माग गरिएको आयोगले जनाएको छ।रासस

प्रकाशित: २७ श्रावण २०७६ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App