बैतडी– सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पहिरो खस्दा गाउँ नै जोखिममा परेको छ। असारमा डोजरले खनेको सडकको कारण पहिरो खस्दा ६ घर विस्थापित भएका छन् भने करिब २५ घर जोखिममा छन्।
ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडककै कारण गाउँ नै जोखिममा परेको हो। स्थानीय प्रेमबहादुर बोहराका अनुसार सडकमाथिबाट ठूलो पहिरो खसेको छ। एक परिवार पूर्णरुपमा विस्थापित भएको छ भने अन्य पाँच परिवार घर छोडेर आफन्तका घरमा बस्न बाध्य छन्। भिरालो जमिन भएकाले स्थानीयले अन्यत्रबाट सडक लैजान आग्रह गरे पनि गाउँ नै जोखिममा पर्ने गरेर डोजरले सडक काट्दा विस्थापित हुनु परेको स्थानीय अम्मरसिंह बोहराले बताए।
ढोल्यामोडदेखि सुर्नया गाउँपालिका–८ को कार्यालयसम्म गत वर्ष करिब ९५ लाख रुपैयाँमा सडक खनिएको थियो। सडकका कारण पहिरोको जोखिम बढेको स्थानीय वीरपल बोहराले बताए। उनले भने, ‘सडकमा खनिएको सबै माटो खेतमा आएको छ। माथिबाट पुरै पहिरो खसेर घर नै जोखिममा परेका छन्।’
जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरोको जोखिम बढेको छ। जथाभावी डोजरले खनिएका सडककै कारण बर्खामा समस्या बढेको हो। दोगडाकेदार गाउँपालिकाको–१ रिममा खनिएको सडकले पनि स्थानीय बासिन्दाका घर जोखिममा परेका छन्। खोचलेक–मल्लाढिक–सित्तड–रिम सडकले त्यतिकै जोखिम निम्ताएको छ।
करिब एक करोड रुपैयाँ भन्दा बढी खर्चेर गत वर्ष निर्माण गरेको उक्त सडकले वर्षा सुरु भएसँगै पहिरोको जोखिम बढाएको छ। भुल्गाउका ६ घर पहिरोको जोखिममा परेको वडाअध्यक्ष ध्वजबहादुर कार्कीले जानकारी दिए। परमले भुल, मन्धिरे भुल,चिउचे भुल, गोविन्द भुल, पत्या भुल र फुत्ते भुलको घर पहिरोको जोखिममा परेका उनले बताए। मेसिनले जथाभावी सडक खन्दा पहिरोको जोखिम एकातिर बढेको छ भने पानीका मुहान पनि हराउँदै गएको स्थानीय बताउँछन्।
गोकुलेश्वर–डिलासैनी सडकले पनि थलालगाउँ, ओखलबाटा, सेटीगाउँ, सौगाउँ लगायतका ठाउँमा पहिरोको जोखिम बढेको छ। ६ वर्ष अघिबाट सडक काट्न सुरु गरेदेखि नै घर पहिरोको जोखिममा परेको स्थानीय हरिदत्त जोशीले बताए। जथाभावी खनिएका कच्ची सडकले खेतियोग्य जमिन र वस्तीमा प्रभाव पर्न थालेको पाटन नगरपालिका–६ का हरिश बिष्टको भनाइ छ। ‘विकासका नाममा विनास भएको छ,’ उनले भने।
जिल्लाका अधिकांश स्थानीय तहले सडकलाई प्राथमिकतामा राखेर गाउँगाउँमा सडक खनेका छन्। तर, ती सडक मापदण्ड बिना खनिएकाले वर्षातको समयमा खोल्सामा परिणत हुन्छन्। प्रत्येक वर्ष सडक खनिन्छन्। वर्षातको भेलले सडकलाई खोल्सा बनाउँछ अनी हिउँद सुरु हुने वित्तिकै तीनै सडक मर्मतको नाममा पैसा खर्च हुने गरेको स्थानीयको आरोप छ।
प्रकाशित: २७ श्रावण २०७६ १२:३२ सोमबार