समाज

पहिरोले सात घर जोखिममा

रसुवाको नौकुण्ड गाउँपालिका–४ नामशरण टोलस्थित पहिरोको जोखिममा परेका घरहरू। तस्बिर: नागरिक

रसुवा – जिल्लाको नौकुण्ड गाउँपालिका–४ नामशरण टोलका सात घर पहिरोको जोखिममा परेका छन्।  अविरल वर्षाका कारण बस्तीमुनि पहिरो गएपछि श्यामबहादुर पाख्रेन, कीर्तिमान पाख्रेन, चन्द्रबहादुर पाख्रेन, मनकुमारी थिङ, बिपीलाल ग्लान, बुद्धिमान पाख्रेन र मंगले पाख्रेनका घर जोखिममा परेका हुन्।

पहिरोले बस्ती नै जोखिममा पारेपछि स्थानान्तरणको विकल्प नभएको स्थानीय श्यामबहादुरले बताए।  ‘पहिरो गएको क्षेत्रको अवलोकन तथा सहयोगका लागि प्रहरी र गाउँपालिकालाई निवेदन दिएका छौं,’ उनले भने, ‘गत वर्ष पनि निवेदन दिएका थियौं तर आश्वासन मात्रै पायौं।  यसपालि पहिलाजस्तो हुँदैन भन्ने आशा राखेका छौं। ’ पानी पर्ने क्रम जारी रहेकाले बस्ती नै पहिरोले लैजाने जोखिम बढेको छ।  मनसुन आपतकालीन कार्ययोजना २०७६ मा उल्लेख भएअनुसार जिल्लाका पाँचवटै गाउँपालिकाका विभिन्न स्थान पहिरोको जोखिममा छन्।

उत्तरगया गाउँपालिकाका तिरु, गोगने, सिरुचेत, मैलुङ, कटुन्जे, लयुङ, पैरेबेंसी क्षेत्र र गोसाइँकुण्ड गाउँपालिकाका दाहालफेदी, मेन्दोगाउँ, तार्सा, देश्यागाउँ, खोपाङ भीर क्षेत्र, लाङटाङ, मुण्डुप, सिन्धुम, लामा होटल तथा धुन्चे–रसुवागढी सडक क्षेत्र पहिरोको जोखिममा छन्। 

त्यस्तै कालिका गाउँपालिकाका राम्चे, गुम्चेत, सिङ्बेद, ग्राङ, प्राङ्से, धोबीखोला, स्याउबारी, राम्चे–मूलखर्क सडकखण्ड, नौकुण्ड गाउँपालिकाका साङग्गुल, बच्चा, दनुस्वारा, खाल्चेत, घोर्मु क्षेत्र तथा आमाछोदिङ्मो र पार्वतीकुण्ड गाउँपालिकाका ठूलो हाकु, सानो हाकु, गोरसुङ्बा, केराबारी, पाजुङ क्षेत्र पहिरोको जोखिममा रहेको कार्ययोजनामा उल्लेख छ।

प्रकाशित: २७ श्रावण २०७६ ०२:०७ सोमबार

पहिरो जोखिम