समाज

महामारी फैलिँदा ५० बढी बाख्रा मरे

बाख्राको औषधी उपचार गर्दै पशु स्वास्थ्यकर्मी । तस्बिर: नागरिक

नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिका–२३ मा बाख्रामा महामारी फैलिएको छ। करिब दुई सातादेखि फैलिएको महामारीले अहिलेसम्म किसानको ५० भन्दा बढी खसी र बाख्रा मरिसकेको वडा नम्बर २३ का वडाध्यक्ष मोहम्मद हुसेन शेखले जानकारी दिए। उनका अनुसार बाख्रामा पखाला लाग्ने, नाकबाट सिंगान बग्ने, आँखामा चेप्रा पर्ने, खोक्ने लगायत लक्षण देखिएको छ। बाख्रामा महामारी फैलिएपछि स्थानीय किसान चिन्तित भएका छन्।

महामारी फैलिएको दुई सातापछि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले पशु स्वास्थ्य शिविर चलाएको छ। उपमहानगरपालिकाको पशु सेवा शाखाले महामारी फैलिएको स्थानमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको सहकार्यमा उक्त शिविर सञ्चालन गरेको हो। किसानले बिरामी भएका र नभएका खसी बोका र बाख्राको स्वास्थ्य परिक्षणका लागि शिविरमा ल्याएको पशु  स्वास्थ्य प्राविधिक लक्ष्मी शाहीले जानकारी दिईन्।

बाख्रामा देखिएको रोगको लक्षणका आधारमा पि.पि.आर. रोग लागेको हुन सक्ने अनुमान गरिएको बताइन्। वडा नम्बर २३ को भज्जीपुर्वा र जंगलीसिंहपुर्वामा शनिबार दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले जनाइन्।  शिविरमा १ सय १७ घरधुरीका ८ सय ६४ वटा खसीबोका र बाख्राको स्वास्थ्य परीक्षण गरि औषधी उपचार गरिएको पशु स्वास्थ्य शाखाले जनाएको छ।  शिविरमा अस्पतालका पशु चिकित्सक डा. गणेशबहादुर पुनसहित ११ जना पशु स्वास्थ्यकर्मी खटिएको बताइएको छ।

प्रकाशित: २६ श्रावण २०७६ ०८:४७ आइतबार

नेपालगन्ज_उपमहानगरपालिका महामारी