समाज

नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या

काठमाडाैं- नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन्। प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन्।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन्। आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन्।

आव २०७५/७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउछन्। मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उनको भनाइ छ।

आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएको छ। आव २०७४/७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए।

काठमाडौँ उपत्यकामा आव २०७५/७६ मा ५३९ ले आत्महत्या गरेका छन्। उपत्यकामा आव २०७४/०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए। रासस

प्रकाशित: २६ श्रावण २०७६ ०७:४८ आइतबार

नेपाल आत्महत्या