समाज

भक्तपुर—नगरकोट सडक विस्तारमा ढिलाइ, कारबाहीको माग गर्दै विराेध

नगरकोट– भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म पुग्ने  सडक विस्तारमा ढिलाइ गर्नेहरूमाथि कारबाहीको माग गर्दै शनिबार सांसदसहितको टोलीले सडकमा प्रदर्शन गरेको छ।

भक्तपुर—नगरकोट सडकखण्डको तेलकोटदेखि खरिपाटीसम्मको करिब तीन किलोमिटर सडकमा नारा जुलुसका साथ पैदल यात्रा गरी ठेकेदार र त्यसलाई संरक्षण गर्ने सरकारलाई कारबाहीको माग गरेको हो।

भक्तपुर क्षेत्र नं. १ का सांसद् एवम् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको नेतृत्वमा सडकखण्डमा नारा जुलुसका साथै पैदल यात्रा गरी विरोध प्रदर्शन गरेको हो। नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघ जिल्ला समिति भक्तपुरको संयुक्त आयोजनामा विरोध कार्यक्रम भएको हो। तेलकोटबाट सुरु भएको पैदल विरोध प्रदर्शन खरिपाटीमा पुगेर सभामा परिणत भएको थियो।

सन् २०१४ मा भक्तपुर नगरकोट पर्यटकीय सडक विस्तारको ठेक्का नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शैलुग कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीले पाएको र सरकारको संरक्षणकै कारण दुई वर्षमा सकाउनुपर्ने काम ६ वर्ष भइसक्दा पनि नसकिएको पर्चामा उल्लेख छ। 

सांसद सुवालले नगरकोट सडक विस्तार समयमा सम्पन्न नहुनुको मुख्य कारण ओली–दाहाल सरकारले ठेकेदारलाई दिइराखेको संरक्षण भएको बताए। यसकारण यसको मुख्य दोष सरकारको रहेको उनको भनाइ थियो। 

भक्तपुरको कमलविनायक भत्केको पाटीबाट नगरकोट पुग्ने १६ किलोमिटर लामो सडक विस्तार ६५ प्रतिशत सकिएको दाबी गरिए पनि अहिलेसम्म कुनै प्रगति देखिएको छैन। एक्जिम बैंक इन्डियाको सहयोगमा विस्तार भएको सडकको निर्माण आर्थिक वर्ष २०७२/०७३ भित्र सम्पन्न गरिसक्ने योजना थियो। तर, हालसम्म भत्केको पाटीदेखि तीन किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ। कालोपत्रे गरिएको सडक पनि निर्माणाधीन सडकजस्तै खाल्डाखुल्डी भएर धूलाम्य छ। 

आरामाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले संयुक्तरूपमा सडक निर्माणको जिम्मा पाएको थियो। सडक विभागअन्तर्गतको भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार योजनाअन्तर्गत काम भएको हो।

प्रकाशित: २५ श्रावण २०७६ ०७:११ शनिबार

सडक भक्तपुर—नगरकोट कारबाही