समाज

स्वास्थ्य संस्थामा स्तनपान कक्ष

रसुवा – रसुवाका पाँच स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना गरिएको छ। स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राहीले बालबालिकासमेत बोकेर आउने भएकाले सहजताका लागि सो कक्ष स्थापना गरिएको हो।

सेवा लिन बच्चा बोकेर आउने दिदीबहिनीलाई यो कक्षले सहयोग पुग्नेछ। स्तनपान सप्ताहका अवसरमा जिल्लाका तीन गाउँपालिकाका स्वास्थ्य संस्थामा स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो। जिल्लाको कालिका गाउँपालिकास्थित जिवजिवे ग्रामीण अस्पताल, राम्चे स्वास्थ्य चौकी, कालिका सामुदायिक स्वास्थ्य एकाइ, नौकुण्डको भोर्ले स्वास्थ्य चौकी र उत्तरगयोपौवा स्वास्थ्य चौकीमा स्तनपान कक्ष स्थापना गरिएको हो।

२०७४ सालमै जिल्ला प्रशासन कार्यालय रसुवामा स्तनपान कक्षको स्थापना गरिएको थियो।

बाहिर बसेर दूध चुसाउन अप्ठ्यारो हुने र स्तनपान कक्ष हुँदा आमाले ढुक्कसँग दूध चुसाउन पाउने भएकाले यसको स्थापना गरिएको उत्तरगया गाउँपालिकाका हेल्थ असिस्टेन्ट तथा सूचना अधिकारी उत्सव पौडेलले बताए। जिल्लाका पाँचवटै गाउँपालिकाका गाउँघर क्लिनिक र स्वास्थ्य आमा समूहको बैठकमा स्तनपानको महŒवबारे चर्चा गर्दै स्तनपान सप्ताह मनाइएको थियो। स्तनपान कक्ष स्थापना तथा सञ्चालनका लागि सुआहारा कार्यक्रमले प्राविधिक सहयोग गरेको थियो। यसअघि २०७४ सालदेखि जिल्ला प्रशासन कार्यालय रसुवामा स्तनपान कक्षको स्थापना गरिएको थियो।

स्वास्थ्य सर्वेक्षणका अनुसार जन्मेको एक घण्टाभित्र ५५ प्रतिशत नवजात शिशुले मात्र आमाको बिगौते दूध चुस्ने गरेका छन् भने दुई वर्षसम्म निरन्तर दूध चुस्ने बालबालिकाको संख्या ८८ प्रतिशत छ। ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन २०७५’ मा सरकारी, गैरसरकारी, निजी संघसंस्थाले आआफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान छ।

प्रकाशित: २५ श्रावण २०७६ ०३:४३ शनिबार

स्वास्थ्य_संस्था स्तनपान_कक्ष