समाज

घर छाडेका द्वन्द्वपीडित अझै डेरामै

रोल्पा - माओवादी द्वन्द्वको उत्कर्सताका २०५९ साल असोजमा विस्थापित भएका रोल्पा नगरपालिका १० गापाका कर्णसिंह पुन मगर अहिलेसम्म पुनस्र्थापित हुन सकेका छैनन्।  उतिबेला काइँलो छोराको स्थानीय युवासँग झगडा भएपछि उनीहरुले माओवादी लगाएर आफ्नो परिवारलाई घरबाट विस्थापित गराएको पुनमगरको गुनासो छ।  यो परिवार १६ वर्षदेखि सदरमुकाममा डेरा लिएर बसिरहेको छ।

कर्णसिंहका सात भाइ छोरा र एक छोरी छन्।  मजदुरी गर्ने उनका चार भाइ छोरा नेपाली सैनिक र एक सशस्त्र प्रहरी छन।  ‘माओवादीले मार्लान् भनेर छोरा धेरै जन्माएको हुँ।  धेरै सन्तान भए भने दुस्मनले पनि निहुँ खोज्न डराउँछन्,’ पुनले भने, ‘दुई भाइ छोरा सानै छन।  हाइस्कुल पढ्छन्। ’

पत्नीको मृत्यु भएपछि द्वन्द्वकालमा पति गुमाएकी एकल महिलासँग दोस्रो बिहे गरेर सदरमुकाममै मजदुरी गरिरहेका ७० वर्र्षीय पुन राप्रपाका कार्यकर्ता हुन्।  ‘त्यतिबेला माओवादीले घरमा भएको सबै लुटे।  विस्तारै स्याहार नपाएपछि घर पनि ढल्यो,’ उनले भने।  कर्णसिंह घर फर्कने मनस्थितिमा थिए तर अर्को द्वन्द्वको हल्ला चलेसँगै सदरमुकाममै खुम्चिएका छन्।  ‘अब उमेर पनि गयो।  घर गएर दुःखसुख गरौंला भनेको फेरि अर्को (विप्लव) ले उस्तै गर्न लाग्यो भन्छन्।  अब यतै लिबाङतिर पो मरिन्छकी क्या हो !’

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा सत्य तथ्य थाहा पाउन दिएको निवेदन कहाँ पुग्यो भन्ने केही थाहा नपाएका उनलाई उजुरी पीडकको हातमा पुग्छ कि भन्ने चिन्ता छ।  ‘मेरो सम्पत्ति लुट्ने पनि उनीहरू।  अनि राहत खाने उनीहरु नै भए।  जसले लुट्यो उसैले राहत पाउँछ।  बोलिदिने कोही नभएका हामीलाई हैरानी मात्र हो।  मलाई किन घरमा बस्न दिइएन।  मेरो घर किन लुटियो थाहा पाउनुप¥यो नि।  अनि लुटिएको सबै फिर्ता नपाए पनि सरकारले केही त हेर्नुपर्ने नि तर के मतलब।’

प्रकाशित: २५ श्रावण २०७६ ०२:०५ शनिबार

द्वन्द्वपीडित माओवादी