समाज

नमुना संग्रहालय बनाउन पहल

पोखरा  – गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले यस क्षेत्रको संग्रहालयलाई नमुनाको रुपमा विकास गर्नुपर्ने बताएका छन्। बिहीबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश संग्रहालयको नयाँ प्रदर्शनी कक्षको उद्घाटन गरेका थिए।

पुरातत्व विभागद्वारा निर्मित सो प्रदर्शनी कक्षको उद्धाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री पुनले प्रदेश सो संग्रहालयलाई नमुनाको संग्रहालय बनाउनका सहकार्य गर्न आग्रह गरेका थिए। ‘यो संग्रहालयलाई नमुना संग्रहालयको रुपमा विकास गर्नुपर्छ। ‘संग्रहालयले संस्कृति, संस्कार र कलाको प्रतिनिधित्व गर्ने भएकाले प्रदर्शनी कक्षलाई आयआर्जनका साथै अध्ययनको थलोका रुपमा विकास गरेर संरक्षण गर्न सकिन्छ,’उनले भने।

प्रदर्शनी कक्षमा विष्णु, भीमसेन, तिब्बती कला शैलीको लामा धर्म गुरु र हिमाली लामाको मूर्तिलगायत १८ औँ शताब्दीका मूर्तिहरु राखिएको छन्। साथै तमु समुदायको पच्यू, कलेप्री र वोन्पोलाम पुरोहितका मूर्ति समेटिएका छन्। पर्यटकहरुलाई केन्द्रित गरेर दुई सय पुरानो नेपालको संस्कृतिबारे जानकारी गराउनका लागि सानो आकारको एकनाले बाजा ट्र्याम्पो, गन्धर्व जातिको लोकबाजा, ढ्याङ्ग्रोलाई गजाको सहायताले बजाउने बाजा, ढोलक, डम्पूm र मादललगायतका पुरातात्विक वस्तुहरुसमेत प्रदर्शनी कक्षमा राखिएको गण्डकी प्रदेश संग्रहालयको कार्यालयले जनाएको छ।

मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले चालू आर्थिक वर्षमा प्रदेश संग्रहालयका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै ३५ वर्ष पुरानो संग्रहालय भएपनि सो अनुरुप प्रगति गर्न नसकेको बताएका थिए। प्रदेश संग्रहालय कार्यालयका प्रमुख करुणा राईले संग्रहालयको विकास र संरक्षणबारे बोलेकी थिइन्।

प्रकाशित: २४ श्रावण २०७६ ०२:४० शुक्रबार

गण्डकी_प्रदेश संग्रहालय