समाज

बैंकका कर्जा प्रमुख छानबिन दायरामा

काठमाडौं - जथाभावी ऋण प्रवाह गरेर अनुचित लाभ लिएको विषयमा बैंक तथा वित्तीय संस्थाका कर्जा विभाग प्रमुखहरुमाथि सम्पत्ति शुद्धीकरण विभागले सोधखोज गरेको छ।  विभागका अनुसार अधिकांश वाणिज्य तथा विकास बैंकका कर्जा प्रमुखहरुले ऋण प्रवाह गर्दा आर्थिक प्रलोभनमा परेर बिनामापदण्ड हचुवामा निर्णय गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले त्यस्तो निर्णयमा संलग्नमाथि पिस्तृत अनुसन्धान अघि बढाइएको हो।

बैंकहरुले कर्जा प्रवाह गर्दा आर्थिक लाभ लिने गरेको गुनासो बढ्दै गएकाले कर्जा विभागको नेतृत्व तहमा रहेका अधिकारीमाथि पिस्तृत अनुसन्धान थालिएको विभागका एक अनुसन्धान अधिकृतले बताए।  बालुवाटारस्थित ललिता निवासको जग्गामा पनि कर्जा प्रवाह गर्दा भविष्यमा आउन सक्ने जोखिमको आकलन नगरी आर्थिक प्रलोभनमा परेर ऋण दिएकाले त्यसमा संलग्न व्यक्तिमाथि पनि विशेष अनुसन्धान अघि बढेको ती अधिकृतको भनाइ छ।  ‘व्यक्तिका नाममा दर्ता भएको ललिता निवासको जग्गा बैंकमा धितो राखेर २ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी ऋण लिएको र त्यो जग्गा धितो राखेर कर्जा प्रवाह गर्दा बैंकका प्रमुख कार्यकारी अधिकृत र कर्जा विभाग प्रमुखले आर्थिक लाभ लिएको हुन सक्ने भएकाले पनि विभागले चासो देखाएको हो,’ ती अनुसन्धान अधिकृतले भने।

विभागका महानिर्देशक रुपनारायण भट्टाईले बैंक तथा वित्तीय संस्थाका कर्जा विभागले ऋण प्रवाह गर्दा अपनाएको मापदण्ड, कर्जाको जोखिम, कर्जा प्रवाह गर्दा लिइने अतिरिक्त लाभका विषयमा सूक्ष्म अनुसन्धान भइरहेको बताए।  त्यो विषय हेर्न र अनुसन्धान गर्न विभागमा छुट्टै युनिट रहेकाले सबै विषयमा आफूलाई जानकारी नभएको उनले बताए।

प्रकाशित: २४ श्रावण २०७६ ०२:०६ शुक्रबार

कर्जा_प्रमुख छानबिन