समाज

बाघ आक्रमणमा २१ बाख्रा मरे, एकजना घाइते

ओखलढुंगा – चम्पादेवी गाउँपालिकामा बाघले आतंक मच्चाएको छ।  चम्पादेवी गाउँपालिका–१ र २ पलापुमा बाघले आतंक मच्चाएको हो।  तीन दिनमा बाघले स्थानीयका २१ वटा बाख्रा मार्नुका साथै एकजना स्थानीय बाघको आक्रमणमा घाइते भएका छन्।

बुधबार बिहान गोठ जाने क्रममा बाघको आक्रमणमा परी हिराबहादुर श्रेष्ठ घाइते भएको वडाध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिए।  त्यस्तै बाघले मसली मायाका नौवटा बाख्रा मारेको छ।  यसका साथै पलापुकै झलकबहादुर मगरका पाँच र बाबुराम श्रेष्ठका दुई, बलबहादुर श्रेष्ठ, घनिमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरका एकएकवटा बाख्रा बाघले मारेको वडाध्यक्ष श्रेष्ठले बताए।

  सबै बाख्रा बाघले खोरमै आएर आक्रमण गरी मारेको उनको भनाइ छ।  बाघ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुंगामा पहल गरिएको गाउँपालिका प्रमुख नवराज केसीले बताएका छन्।  बाघआतंक नियन्त्रणका लागि जिल्लाबाट टोली मगाइएको अध्यक्ष केसीले बताए।  रातदिन जुनसुकै समयमा बाघले आक्रमण गरी बाख्रा मार्न थालेकाले स्थानीय त्रसित भएका छन्।

प्रकाशित: २३ श्रावण २०७६ ०२:०१ बिहीबार

बाघ_आक्रमण घाइते