समाज

खडेरी र वर्षापछि खाद्य संकट

खोटाङ – एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसमक्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको खडेरी तथा वर्षापीडित नागरिकला उपलब्ध गराउन माग गरिएको छ।  प्रदेशसभा सांसद राजन राईको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री राईलाई भेट गरी खडेरी र वर्षाको मारमा परेका सर्वसाधारणको सहजताका लागि आवश्यक खाद्यान्न व्यवस्था गर्न, वर्षाका कारण भत्किएका सडक मर्मत गरेर सञ्चालनमा ल्याउन तथा बिग्रे÷भत्केका खानेपानी आयोजना सञ्चालन गर्न माग गरेको हो।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, नेकपा हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष सुरेन्द्र राईलगायतको टोलीले काठमाडौं पुगेर विभिन्न संघीय मन्त्रालयसमक्ष खाद्यान्न, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायत माग राखेको केही दिनपछि प्रदेश सरकार प्रमुखसमक्ष सोही किसिमको माग पुगेको हो।

छरेका मकै खडेरीले मरेको केही समय नबित्दै गत असार २५ देखि साउन ६ गतेसम्म परेको अविरल वर्षाका कारण नगरपालिकाभित्रका ११ वटै वडा जोड्ने सडक अवरुद्ध भएको, ढुवानी गर्ने वैकल्पिक बाटो नहुँदा खाद्यान्न संकट सुरु भएको, विभिन्न ठाउँमा खानेपानीको मुहान बगाएसँगै संकटको अवस्था सिर्जना भएकाले प्रदेश सरकारलाई गुहारिएको नेकपा हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष राईले बताए।  टोलीले सामाजिक विकास मन्त्री जीवन घिमिरे, अर्थमन्त्री इन्द्र आङ्बोसमक्ष पनि राहत तथा सहयोगका लागि माग राखेको जनाएको छ।  टोलीमा नेकपा नेता देवी रेग्मी, गोपाल दाहाल, हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेललगायत सहभागी थिए।

लामो खडेरीका कारण मकैको बिरुवा सुकेपछि हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटारलगायतका वडामा खाद्यान्न संकट सुरु भइसकेको छ।  मकै पाक्ने यो बेलामा किसानको बारीमा पुनः छरेको मकै उम्रिँदै छ।  अर्कोतर्फ बजारसँग जोड्ने सडक बिग्रे÷भत्केकाले खाद्यान्नलगायत उपभोग्य सामान ढुवानी गर्न सक्ने अवस्था छैन।  हरियो मकै खाएर छाक टार्नुपर्ने बेलामा सहर–बजारबाट खाद्यान्न ढुवानी गर्ने बाटोसमेत ठप्प हुँदा खाद्यान्न संकट सिर्जना भएको मेयर राईले बताए।  ‘यो बेला किसानले हरियो मकै खाएर जीवन निर्वाह गरिरहेका हुन्थे।  तर, खडेरीले मकैको बिरुवा नै मरे।  वर्षापछि छरेको मकै भर्खरै उम्रदै छ,’ राईले भने, ‘गाउँमा ऐंचोपैंचो गर्ने अन्न छैन।  बजारबाट खाद्यान्न ल्याउने सडक पनि ठप्प भएकाले तत्काल सडक सञ्चालन गराउनुपर्ने अवस्था छ। ’

प्रकाशित: २३ श्रावण २०७६ ०१:३८ बिहीबार

खडेरी खाद्य_संकट