समाज

डिएसपीसहित २ सय ८० प्रहरी कारबाहीमा

प्रदेश प्रहरी कार्यालय जनकपुर, प्रदेश २ को कार्यालय। तस्बिरः नागरिक

धनुषा– आचरणविपरीत काम गरेको अभियोगमा प्रदेश २ का विभिन्न तहका दुई सय ८० जना प्रहरी विभागीय कारबाहीमा परेका छन्। गत आर्थिक वर्षमा विभागीय नियमविपरीत काम गरेका र अमर्यादित क्रियाकलाप गरेका प्रहरीलाई कारबाही गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको हो। 

राम्रो काम गर्नेलाई तत्कालै पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नेपाल प्रहरीको विभागीय नीतिअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा उनीहरू कारबाहीमा परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ज्ञानकुमार महतोले जानकारी दिए।

मादक पदार्थ सेवन, संगठनप्रति जिम्मेवार नहुनु र कर्तव्य पूरा नगर्नु लगायत अमर्यादित क्रियाकलाप गरेको भन्दै अधिकांश तल्लो तहका प्रहरी विभागीय कारबाहीमा परेको उनको भनाइ छ। प्रदेश २ का आठै जिल्लाबाट एकजना प्रहरी नायव उपरीक्षक, चार प्रहरी निरीक्षक, १७ प्रहरी नायव निरीक्षक, ३७ प्रहरी सहायक निरीक्षक, ६३ प्रहरी हवल्दार र एक सय ५७ प्रहरी जवान, कार्यालय सहायक एक जना विभागीय कारबाहीमा परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

तीन प्रहरी नायव निरीक्षकसहित १४ जनालाई विभागले सचेत गराएको छ भने तीनजना प्रहरी निरीक्षकसहित एक सय ४० जनालाई (नसिहद) चेतावनी दिएको छ। कार्यालयको अनुसार विभिन्न दर्जाका २१ जना प्रहरीलाई ग्रेड घटुवा गरेका छन् भने १२ जनाको ग्रेड रोक्का गरेको हो।

२४ जना प्रहरीलाई सुरुको स्केलमा घटुवा, ११ जनाको पदोन्नति रोक्का, १८ जनालाई सेवाबाट हटाएको, ३१ जनालाई निलम्बन गरेको र ९ जनालाई स्वतःनिलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्याङ्कमा उल्लेख छ।

त्यस्तै राम्रो काम गरेबापत् एक वरिष्ठ प्रहरी उपरीक्षक, पाँच प्रहरी उपरीक्षक, ११ प्रहरी नायव निरीक्षक, २० प्रहरी निरीक्षक, ३० प्रहरी नायव निरीक्षक, ३५ प्रहरी सहायक निरीक्षक, ६२ प्रहरी हवलदार, ९३ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगीलाई पुरस्कृत गरिएको प्रवक्ता महतोले बताए।

प्रदेश २ मा विगतभन्दा अहिले विभागीय कारबाहीमा पर्नेको संख्या कम भएको भन्दै यस वर्ष प्रहरीको आचरणविपरीत काम गर्नेलाई नसिहत, चेतावनी, निलम्बन, ग्रेड रोक्का, पदोन्नति रोक्का, दर्जा घटुवा, चालचलनसम्बन्धी प्रतिकूल राय दिनेजस्ता कारबाही भएको उनले सुनाए।

प्रकाशित: २२ श्रावण २०७६ ०५:२५ बुधबार

प्रहरी कारबाही