समाज

हिमाली जिल्ला जोखिम

मुस्ताङको लोमान्थाङमा आइतबार राति बाढीले पु-याएको क्षति। तस्बिर सौजन्य: इन्द्रधारा विष्ट

पोखरा - अन्यत्रको तुलनामा निकै कम पानी पर्ने हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय भने सामान्य वर्षाले पनि भीषण बाढीको रूप निम्त्याउने गरेको छ।  त्यसको पछिल्लो उदाहरण हो, आइतबार मध्यरातको वर्षा।  ५ दशमलव ६ मिलिलिटर मापन भएको वर्षाले आइतबार मध्यरातमा भीषण बाढी निम्त्याएको थियो।  बाढीले माथिल्लो भेग लोमान्थाङका घर, मोटरबाटो र पुलपुलेसामा धेरै क्षति पु-यायो।

लोमान्थाङ गाउँपालिका–४ र ५ वडाबीचको लोमान्थाङ खोलामा मध्यरातको बाढीले आसपासका क्षेत्रमा व्यापक क्षति पु¥याएको छ।  मानवीय क्षति नभए पनि सडक, काठेपुल र सिँचाइ आयोजनामा नोक्सान गरेको स्थानीय प्रशासनले बताएको छ।  मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री भन्छन्, ‘जम्मा ५ दशमलव ६ मिलिलिटर वर्षा भएको थियो।  आधा घण्टाको त्यो वर्र्षाले त्यस क्षेत्रमा बाढी नै निम्त्यायो। ’ प्रजिअ क्षेत्रीका अनुसार वर्षाले निम्त्याएको बाढीले जोमसोम–कोरला सडकखण्डमा पर्ने छोसेरनजिकको सडक नै बगाएको छ।  सो सडक सञ्चालनमा ल्याउन स्काभेटर नै प्रयोग गर्नुपरेको छ।  उनका अनुसार अघिल्लो साउनमा पनि माथिल्लो क्षेत्रमा सामान्य वर्षाले यस्तै क्षति निम्त्याएको थियो।  ‘हिमाली भेगअन्तर्गत तल्लो तटमा अवस्था सामान्य हुन्छ, तर माथिल्लो भेगमा परेको न्यून वर्षाले पनि बाढीको रूप लिन थालेको छ,’ उनले भने, ‘हिमाली जिल्लामा मौसमी चुनौती थपिएको हामीले अनुभव गरेका छौं। ’
माथिल्लो भेगमा माटो र ढुंगा मात्र रहेकाले सामान्य वर्षा हुँदा पनि त्यहाँ बग्न थाल्छ।  माटोढुंगा बग्न रोक्ने गरी रूखबिरुवासमेत छैनन्।  त्यसैले सामान्य पानी पर्नासाथ लेदो बग्न थाल्ने क्षेत्रीले बताए।  ‘अन्यत्र जस्तो पानी पर्ने हो भने सम्हाल्न नसकिने अवस्था आउँछ।  पोहोर पनि कोरला नाका आउने बाटोमै अवरुद्ध हुनेगरी भीषण बाढी आएको थियो,’ उनले भने, ‘अहिले त हामीलाई नै अचम्मित पार्नेगरी बाढी आएको छ।  तल्लो तटमा पानी नपर्दा पनि सिरान क्षेत्रबाट जोखिम बढिरहेको उनले बताए।  ‘सायद वर्षापछि हिउँ पग्लियो, अनि बग्दै जाँदा बाढीको रूप लिएको हाम्रो अनुमान छ,’ उनले भने, ‘अब सचेत हुने बेला भएको छ।  जलवायु परिवर्तनले अब खतराको संकेत दिएजस्तो छ। ’

लोमान्थाङमै घर भएका गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टका अनुसार आधा घण्टाको वर्षाले भीषण रूप लिएको थियो।  ‘मानवीय क्षति भने हुन पाएन।  तर बाटो, पुलपुलेसा र घर नै बगाएको छ,’ उनले भने, ‘पछिल्लो समय सामान्य वर्षामा पनि हिमाली भेगमा क्षति हुन थालेको छ। ’ क्षतिको विवरण संकलन गर्न उनले सरोकारवालासँग आग्रह नै गरेका छन्।  वर्षायाम अझै जारी रहेकाले लोमान्थाङलगायत उपल्लो मुस्ताङका बासिन्दालाई संयमित बनी सुरक्षित स्थानमा बस्नसमेत उनले आग्रह गरेका छन्।

भूगर्भविद् श्रीकमल द्विवेदी पनि हिमाली भेगमा पछिल्लो समय जलवायु परिवर्तनको चुनौती थपिन थालेको बताउँछन्।  उनका अनुसार आइतबार राति मुस्ताङको लोमान्थाङमा मापन भएको वर्षा सामान्य हो।  तर त्यसले निम्त्याएको बाढी पत्याइनसक्नु रहेको उनले बताए।  पहिले हिउँ पर्ने ठाउँमा अहिले पानी पर्न थालेकाले यो अवस्था आएको उनको अनुमान छ। 

‘हिमपातले माटोढुंगा जमेर बसेको थियो, अहिले त्यो ठाउँमा पानी परेपछि पानीले हिउँ पगाल्दा बग्न थाल्यो, बग्दै जाँदा बाढीको रूप लिएको हुनसक्छ,’ उनले भने, ‘उच्च हिमाली क्षेत्रमा पछिल्लो समय बढी वर्षा हुन थालेकाले बढी सचेत हुन आवश्यक छ। ’ हिमाली क्षेत्रको जोखिमबारे निकै नै कम ध्यान दिइएको उनको भनाइ छ।  उनका अनुसार बेलैमा ध्यान नदिने हो भने हिमाली क्षेत्रमा क्षति बढ्न सक्छ।  द्विवेदीले भने, ‘सिरान क्षेत्रको अवस्था के छ भनेर सामान्य अध्ययन पनि गरिएको छैन।  कुनै दिन ठूलो क्षति निम्त्याउन सक्छ। ’

प्रकाशित: २२ श्रावण २०७६ ०२:४३ बुधबार

वर्षा हिमाली_जिल्ला जोखिम