समाज

राहत माग्दै सिंहदरबार

खोटाङ – खडेरी तथा वर्षाको चपेटामा परेको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न मन्त्रालय पुगेर खाद्यान्न, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायत माग गरेको छ।  छरेका मकै खडेरीले मरेको केही समय नबित्दै गत असार २५ गतेदेखि साउन ५/६ गतेसम्म परेको अबिरल वर्षाका कारण नगरपालिकाभित्रका ११ वटै वडा जोड्ने सडक अवरुद्ध भएको, ढुवानी गर्ने वैकल्पिक बाटो नहुँदा खाद्यान्न संकट सुरु भएको, विभिन्न ठाउँमा खानेपानीको मुहान बगाएकाले संकटको अवस्था सिर्जना भएको भन्दै नगरपालिकाले गृहमन्त्रालय, खानेपानी मन्त्रालय, भौतिक योजना तथा पूर्वाधार मन्त्रालय, स्थानीय विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर आवश्यक सहयोग माग गरेको हो।

गृहमन्त्री रामबहादुर थापासमक्ष खाद्यान्न तथा राहत, खानेपानी मन्त्री विना मगरसमक्ष भलबाढीले क्षतिग्रस्त खानेपानी सुचारु गराउन, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयसमक्ष अवरुद्ध सडक सुचारु गराउन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष खाद्यान्न व्यवस्थापनका लागि माग राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।  लामो खडेरी परेपछि खाद्य संकट घोषणा गरेर बजेट विनियोजन नै गरेको नगरपालिकाको बैठकको निर्णयअनुसार स्थानीय तहमा आइपरेको प्राकृतिक विपत्ति समाधानका लागि सिंहदरबार पुगेर सहयोग मागेको हो।

खाद्यान्न तथा राहतका लागि मेयर राईसहित युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, नेकपा हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष सुरेन्द्र राईलगायतको टोली विभिन्न मन्त्रालय पुगेको हो।  वर्षाको क्षतिपछि मेयर राईको टोलीले स्थलगत अध्ययन गरेको थियो।

प्रकाशित: २१ श्रावण २०७६ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App