समाज

राजमार्ग खुला, पहाडी सडक अवरुद्ध

रुपन्देही - वर्षा लागेपछि सिद्धबाबा पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड सबैभन्दा बढी अवरुद्ध हुँदै आएको छ।  सामान्य वर्षाले पनि सो सडक अवरुद्ध हुने गरेको छ।  असार अन्तिम साताबाट भने दिनहुँजसो सिद्धबाबा क्षेत्रमा पहिरो गइरहेको छ।  सडक कतिखेर अवरुद्ध हुन्छ भन्ने कुनै पत्तो हुन्न।  असार २८ गते सडकमा यात्रा गर्दै गरेका पाल्पा मित्यालका ३१ वर्षीय धनबहादुर सुनारीलाई पहिरोले मोटरसाइकलसँगै बगाउँदा ज्यान गएको थियो।

प्रदेश ५ को सबैभन्दा जोखिमयुक्त सडकका रूपमा सिद्धबाबा पहिरोलाई मानिएको छ।  सोमबार बिहान सिद्धबाबा क्षेत्रमा ढुंगा खसेपछि झन्डै आधा घन्टा बुटवल पाल्पा सडक अवरुद्ध बनेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।  यो सडकखण्ड छिनभरमै खुल्ने र अवरुद्ध हुने गरेको छ।  सडक डिभिजन र प्रहरीको टोलीले सामान्य अवस्थाका पहिरो खस्दा तुरुन्तै हटाउँदै आएको छ।  सिद्धबाबामा वर्षा लागेपछि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।

पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, बेनीलगायत स्थानमा दैनिक सयौं गाडी गुड्छन्।  अहिले प्रदेशका अन्य सडक भने नियमित रूपमा सञ्चालन भइरहेको प्रदेश प्रहरीले जनाएको छ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा भने यो वर्ष सडक त्यति अवरुद्ध भएको छैन।  सिद्धबाबाबाहेक अन्यत्रका सडक अवरुद्ध हुने अवस्था नरहेको प्रदेश ५ का प्रवक्ता नवराज पोखरेलले बताए।

प्रदेशका पहाडी क्षेत्रका सदरमुकाम जोड्ने केही राजमार्ग भने वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको छ।  गुल्मी, रुकुम, रोल्पा, प्युठानका केही ग्रामीण सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।  राजमार्गमा हुने अवरोधलाई भने तत्काल हटाउन सडक डिभिजन कार्यालयका डोजरहरू तयारी अवस्थामा राखिएका छन्।

प्रकाशित: २१ श्रावण २०७६ ०१:३१ मंगलबार

सडक_अवरुद्ध राजमार्ग