समाज

तुरतुरे ताल फुट्याे

ताल फुटेपछि आएको बाढीले भत्काएको सडक । तस्बिर सौजन्यः देव बुढा

बागलुङ - जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ।  सोमबार बिहान खोलामा पानीको सतह बढेपछि ताल फुटेको छ।  ताल फुटेपछि तालको आधाभन्दा बढी घटेको छ।  राति ताल फुटेपछि तालमा पानी ह्वात्तै घटेको बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए।  ‘तालको धेरजसो पानी घटेको छ,’ पाइजाले भने,‘पहिरोले सडक अवरुद्ध भएका कारण ताल भएको ठाउँमा पुग्न त सकिदैन।  वारिबाटै हेर्दा पानीमा डुबेका रुखहरु सबै देखिन थालेका छन्। ’

राति वर्षा भएपछि खोलामा पानी सतह बढेको छ।  वर्षाका कारण तालभन्दा केही मध्यहाडी लोकमार्ग भासिएर खोलामा झरेको छ।  पहिरोका कारण ताल फुटेको हुनसक्ने बताइएको छ।  रातिको समयमा ताल फुटेर बडिगाड खोलामा पानीको बहाव बढेर आएपछि तल्लो तटीय क्षेत्रका स्थानीय रातभर जाग्राम बसेका थिए।  तुरतुरेभन्दा तल रहेका भिङगाड, भिङखाल, खार र खर्वाङ बजार लगायत क्षेत्रका स्थानीय रातभर नसुतेको खर्बाङबाट कमल पौडेलले जानकारी दिए।  ‘अहिले पनि पानी परिरहेकाले गर्दा पहिरो भएको ठाउँमा जान सकिएको छैन,’ उनले भने,‘राति दुई बजेतिरबाटै हामी जाग्राम बसेका छौं। 

ताल फुट्यो भनेपछि रातभर कोही पनि सुतेका छैनन्।  उज्याले भएपछि अब बाँचियो भन्ने भएको छ।’ तालमा पानीको सतह बिस्तारै घट्दै गएकाले आत्तिनुनपर्ने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए।  ‘ताल एकैपटक फुटेको होईन, विस्तारै पानी बग्दै गएको भन्ने जानकारीमा आएको छ,’ उनले भने,‘अहिलेसम्मको जानकारीमा ६० प्रतिशत जति तालको पानी बगेको भन्ने छ।  बिस्तारै घट्दै गएकाले ठूलो क्षति हुने सम्भावना छैन भनेर रिपोर्टिङ आइरहेको छ। ’ बढेको बडिगाड खोलाका कारण मध्येपहाडी लोकमार्ग पहिरोको रुपमा झरेपछि बागलुङ—बुर्तिबाङ सडकमा यातायात अवरुद्ध भएको छ।  अहिले बुर्तिबाङबाट बागलुङ, पोखरा, काठमाडौं, पाल्पा बुटवलका लागि छुट्ने सवारी साधनहरु बुर्तिबाङमै रोकिएका छन्। 

बुर्तिबाङ जानका लागि छुटेका सवारी साधनहरु खाल बजारमै रोकिएको बताईएको छ।  लोकमार्गको अधिकाँस भाग पहिरोले बगाएको र कुनापट्टी ठूलो चट्टान कटान गर्नुपर्ने भएकाले लोकमार्ग सुचार हुन समय लाग्नसक्ने स्थानीयले बताएका छन्।  वर्षाका कारण खार बजारमा समेत माथिपट्टीबाट पहिरो झरेका कारण सडक अवरुद्ध छ।  तुरतुरेमा गतवर्ष चट्टानी पहाडसहितको पहिरो झरेपछि करिब एक सय मिटर गहिरो र एक किलोमिटर भन्दा लोमा ताल बनेको थियो।

यस्तै जिल्लाकाे तमानखाेलामा अाएकाे पहिराेमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीका अनुसार पन्चकुमारी खन्सालीको शव भेटिएको छ भने बाँकीको खोजी कार्य जारी छ। 

प्रकाशित: २० श्रावण २०७६ ०३:४५ सोमबार

बेपत्ता तुरतुरे_ताल मृत्यु