समाज

छायाँ कम्प्लेक्सविरुद्ध स्थानीयमने विरोध

काठमाडौं – ठमेलको ऐतिहासिक कमलपोखरी हडपेर बनाइएको छाया कम्प्लेक्सविरुद्ध ठमेल, भक्तपुर, पाटनका स्थानीयबासीले विरोध प्रदर्शन गरेका छन्।  सार्वजनिक कमलपोखरी संरक्षण हुनुपर्ने माग राख्दै आइतबार उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा स्थानीयले सम्पदाविरोधी काम गरेको भन्दै सरकारको आलोचना गरे।  सम्पदाप्रेमी भागवत प्रधानले पैसा र शक्तिको आडमा ऐतिहासिक कलमपोखरी मासेर छाया कम्प्लेक्स बनाइएकाले पुरानै अवस्थामा फर्काएर संरक्षण गर्नुपर्ने माग राखेर विरोध गरिएको बताए।  ‘सरकारको मनोमानीले ऐतिहासिक सार्वजनिक पोखरी मासिएर व्यापारिक कम्प्लेक्स ठडिएको छ,’ उनले भने, ‘छायाँ कम्प्लेक्स भवनले ऐतिहासिक अस्तित्व बोकेको पोखरी मासिएको छ।  यो कदम कुनै पनि हालतमा मान्य छैन।  यसको संरक्षण हुनुपर्छ।  सरकारले यस्ता पोखरीको संरक्षण गर्नुको सट्टा उल्टै मास्दै जानु बिडम्बना बनेको छ। ’

उनीहरुले इन्द्रचोकबाट छायाँ सेन्टरसम्म विरोध प्रदर्शन गरेका थिए।  त्यहाँ पुगिसकेपछि कोणसभा समेत गरेका थिए।  प्रधानले टेकुको पचलीस्थित भैरव गुठीको जग्गामा रहेको ऐतिहासिक पोखरी मासेर स्कुलको संरचना बनाइएकोमा पनि आपत्ति जनाए।  सरकारले छाया कम्प्लेक्स हटाएर पोखरी संरक्षण नगरेसम्म निरन्तर आन्दोलन गर्दे जाने स्थानीयको चेतावनी छ।  पोखरीमा अहिले १५ तले व्यापारिक ‘छायादेवी कम्प्लेक्स’ भवन ठडिएपछि विवाद चर्कंदै गएको छ।

  ५ अर्ब लगानीमा २०७१ सालबाट कम्प्लेक्स भवन बनाउन थालिएको थियो।  सार्वजनिक पोखरी मासेर कम्प्लेक्स नबनाउन स्थानीयवासीले आन्दोलन गर्दै आए पनि कम्प्लेक्स निर्माण कार्य नरोकिएकोमा स्थानीयको चित्तदुखाई छ।

प्रकाशित: २० श्रावण २०७६ ०२:५८ सोमबार

विरोध प्रदर्शन