काठमाडौं - एक सय ३० वर्ष पुगेको मुलुककै पहिलो एलोपेथिक चिकित्सालय वीर अस्पतालको सेवा र गुणस्तर भने समयअनुसार पाको हुन सकेको छैन। १९४७ साउन १२ गते १५ शड्ढयाबाट सुरु भएको वीर अस्पताल हाल तीन सय ८० शड्ढया क्षमता भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रूपमा सञ्चालित छ। २०७२ सालको भूकम्पअघि यसको क्षमता चार सय ६० शड्ढयासम्म पुगेको थियो।
१९९० सालमै सिभिल मेडिकल स्कुलको सुरुवात गरेको वीरमा हाल एमडी÷एमएस, एमडिएस, डिएमएमसिएच साथै पिबिएन, एमएन, एनेस्थेसिया सहायक, एमआइटी विषयको अध्यापन हुँदै आएको छ। १७ रोपनीमा अत्याधुनिक सात तले ६ सय ५० शड्ढयाको भवन निर्माणाधीन रहेको वीरको आर्थिक पारदर्शिता र गुणस्तरीय सेवा प्रदान गर्ने विषय भने प्रश्नको घेरामा परेको छ। जाइकाको सहयोगमा ९१ शड्ढयाको भवन निर्माण सम्पन्न भई जेठमा नै न्याम्सलाई हस्तान्तरण गरिए पनि सो भवन प्रशासनको लापरबाहीका कारण अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
‘वीरका केही कर्मचारी र चिकित्सकले कमिसन लिएर बिरामीलाई निजी अस्पतालमा जान बाध्य बनाइरहेका छन्। कमिसनको चक्करमा उपकरण मर्मत गरिएका छैनन् भने खरिद भएका उपकरण पनि प्रयोगमा ल्याइएका छैनन्।
अस्पताल विस्तारका लागि भक्तपुरको दुवाकोटमा न्याम्सलाई उपलब्ध गराइएको पाँच सय ७० रोपनी जग्गामा हजार शड्ढयाको अस्पताल भवन बनाउने भन्दै गत वर्ष सरकारले डिपिआर तयार गर्न १५ करोड रुपैयाँ छुट्याएको थियो। तर सो रकम त्यत्तिकै फ्रिज भयो। सरकारले वीरको नयाँ भवनको डिपिआरका लागि फेरि ४० करोड रुपैयाँ छुट्याएको छ।
बिरामीको चाप बढ्दै जाँदा त्यसलाई थेग्न नसक्ने अवस्थामा अस्पताल पुगे पनि सरकारले दिएको रकम प्रयोग गर्न नसक्ने र आफ्नै सम्पत्ति तथा उपकरणसमेत प्रयोग गर्न नसक्ने अवस्थामा वीर अस्पताल रहेको छ। वीरको नाममा देशका विभिन्न ठाउँमा रहेका सयौं रोपनी जग्गा पनि उपयोगविहीन बन्दै छन्। उच्च पदस्थ अधिकारीसहित सर्वसाधारणको उपचार–थलो वीरमा गुणस्तरहीन उपकरण खरिद अर्को चुनौतीको विषय बनेको छ। कर्मचारी स्रोतका अनुसार करोडौं लगानीमा खरिद भएको उपकरणहरू गुणस्तरमा कमजोर भएकै कारण प्रयोगविहीन बन्दै गएका छन्।
गत वर्ष ४० करोड रुपैयाँमा खरिद गरिएको इन्ट्र–अप्रेटिभ सिटिस्क्यान मेसिन प्रयोगहीन छ भने ४२ करोड रुपैयाँमा किनिएको टोमोथेरापी मेसिन पनि सञ्चालनमा छैन। एनजिओग्राम, सिहाम, स्पेसल एक्सरे, मेमेग्राम, आइसियू भेन्टिलेटरलगायत मेसिनहरू मर्मत हुन सकेका छैनन्, जसले गर्दा सर्वसाधारण परीक्षण र उपचारका लागि महँगो शुल्क तिरी निजी अस्पतालमा जान बाध्य छन्। ‘वीरका केही कर्मचारी र चिकित्सकले कमिसन लिएर बिरामीलाई निजी अस्पतालमा जान बाध्य बनाइरहेका छन्,’ एक कर्मचारीले भने, ‘कमिसनको चक्करमा उपकरण मर्मत गरिएका छैनन् भने खरिद भएका उपकरण पनि प्रयोगमा ल्याइएका छैनन्।’
बिरामीका लागि दिइने अण्डा, चिनी, चना, पाँच किलो आँटा, बिस्कुटजस्ता खाद्य पदार्थ एक रुपैयाँमा उपलब्ध गराउने भन्दै निकटलाई टेन्डर दिएको आरोप पनि अस्पताल प्रशासनलाई लाग्ने गरेको छ। खानाको जिम्मा पाएको समूहले झन्डै १० हजार मूल्य पर्ने सामान ह्विल–चियर, ट्रली, एक्सरे भ्यु–बक्स, बिपी सेट, मोनिटरलगायत सामग्री अस्पताल प्रशासनले एक पैसामा उपलब्ध गराउन टेन्डर स्वीकृत गरेको छ।
अस्पतालमा आर्थिक अनियमितता भएको भन्दै यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको थियो। उजुरीपछि गठित छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदनसमेत बुझाएको स्रोतको जनाएको छ। उपकरण खरिद, अनावश्यक कर्मचारी भर्नासहितका विषयमा अनियमितता भएको भन्दै छानबिन समितिले केही अधिकारीलाई कारबाहीको सिफारिससमेत गरेको स्रोतको दाबी छ।
प्रकाशित: १९ श्रावण २०७६ ०२:५२ आइतबार