समाज

गोसाइँकुण्ड जाने पदमार्ग मर्मत

रसुवा – गोसाइँकुण्ड जाने पदमार्ग मर्मत गरिएको छ। सोमबारदेखि लाग्ने गोसाइँकुण्ड मेलालाई ध्यानमा राखेर धुन्चे–गोसाइँकुण्ड पदमार्ग मर्मत गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

मिनिगोसाइँकुण्डदेखि देउरालीसम्मको बाटो मर्मत गरिसकिएको छ। तीनदिन लगाएर बाटो मर्मत गरिएको हो। मेला भर्न तीर्थयात्री आउने क्रम बढेसँगै पदमार्ग मर्मत तथा सम्भार गरिएको हो। पदमार्गको कुनै पनि स्थानमा अवरोध नभएका कारण तीर्थयात्री ढुक्कसँग मेला भर्न आउन सक्ने समितिका अध्यक्ष सञ्जीव डिएमले बताए। धार्मिकस्थल गोसाइँकुण्ड पुग्न धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन्। त्यहाँ पुग्न तीनवटा बाटो छ।

काठमाडौं–धुन्चे–गोसाइँकुण्ड सबैभन्दा बढी चल्ती हुने बाटो हो। काठमाडौंबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ। दोस्रो बाटो काठमाडौं–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी हो। तेस्रो सागरकुण्ड हुँज गोसाइँकुण्ड पुग्न सकिन्छ।

प्रकाशित: १९ श्रावण २०७६ ०२:२४ आइतबार

गोसाइँकुण्ड पदमार्ग