समाज

भित्राइयो यस वर्षको खम्ये

भक्तपुर - भक्तपुरको नवदुर्गा द्यो छेंमा यस वर्ष चढाइने खम्ये अर्थात राँगो भित्र्याइएको छ। दशैंमा बली चढाउने खम्ये राँगो वर्षेनी नवदुर्गा द्यो छेंमा नै भित्र्याउने परम्परा छ। खम्येलाई दशंैको महानवमीसम्म नवदुर्गा द्यो छेंमा राखिन्छ र रातभर जात्रा गरेर बली चढाइन्छ।

यस वर्ष ६५ वर्षीय कृष्णमाया गाँइजुले एक लाख भन्दा बढी मूल्य परेको खम्ये चढाएकी हुन्। आफूले पहिलेदेखि नै खम्ये दान दिने सोच बनाइरहेको तर बल्ल यो वर्ष दान दिने दिन जुरेको उनले बताइन्। ‘मान्छे भएर जन्मेपछि केही न केही पुण्यको काम त गर्नुपर्छ। त्यसैले परापूर्वकालदेखि चल्दै आएको परम्परा मनाउन यो वर्ष खम्ये चढाएकी हुँ,’ उनले भनिन्।

कृष्णमाया गाँइजुका जेठो छोरा न्हुच्छेराम गाँइजुले खम्ये चार वर्ष पहिलादेखि नै किनेर पाल्न दिएको बताए। उनले चार वर्ष अगाडि ९० हजारमा खम्ये किनेको बताए। चार वर्षअघि नै किनेर राखिरहेको खम्ये दिने इच्छा राखेको तर पालो नआएकाले कुरिरहेको उनले बताए। आउँदो वर्षसम्मका लागि कसले खम्ये चढाउने तय भइसकेको उनले बताए। खम्ये चढाएपछि पुण्य पाइन्छ भन्ने जनविश्वासका कारण लाख रुपैयाँभन्दा बढी पर्ने खम्ये चढाउन प्रत्येक वर्ष होडबाजी चल्ने गर्छ। आफ्नो पालो पाउन अगाडि नै नाम लेखाउनुपर्छ।

विगत दश वर्षमा भक्तपुरबासीले नै खम्ये चढाएका थिए। त्यसअघिका केही वर्ष भने काठमाडौंबासीले पनि खम्ये चढाउने मौका पाएका थिए। वर्षेनी घण्टाकर्ण र गाईजात्राका बीचमा खम्ये नवदुर्गा द्यो छेंमा ल्याइसक्नुपर्ने परम्परा छ। द्यो छेंमा पालिएको खम्येलाई बली दिनुअघि महानवमीको राति भक्तपुरको ब्रम्हायणीमा दौडाएर लाने परम्परा छ। जसलाई खम्ये जात्रा भनिन्छ। सो जात्रा हेर्न भक्तपुर नगरभरि भीड लाग्छ। भोलिपल्ट ब्रम्हायणीमा ठूलो मेला लाग्दछ। मेलामा काठमाडौं उपत्यकाबाट दसौं हजार जात्रालु पुग्ने गर्दछ।

प्रकाशित: १९ श्रावण २०७६ ०१:५३ आइतबार

नवदुर्गा_द्यो_छेंमा खम्ये