समाज

बागमतीको डरलाग्दो कटान

बागमतीले कटान गरिरहेको हजरिया खर्सालघाट क्षेत्र । तस्बिरः टंक/नागरिक

सर्लाही– सर्लाहीको हजरिया क्षेत्रमा बागमती नदीले केही सातायता डरलाग्दो गरी कटान गरेको छ। हाल खेतीयोग्य जमिन कटान गरिरहेको बागमती बस्तीमै पस्ने त्रासले चिन्तित बनेका छन्।

जिल्लाको पश्चिम सिमा बागमती बागमती नदीले बरहथवा नगरपालिका–१, हजरिया स्थित खर्सालघाटमा दुईसाता भन्दा बढी समयदेखि निरन्तर खेतियोग्य जमिन कटान गरिरहेको उक्त वडाका वडाध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिए। गत विगत वर्षहरुमा समेत वर्षायाममा आएको बाढीले कटान गरिरहेको उक्त क्षेत्रमा यस वर्ष भने असार अन्तिमसाता परेको अविरल वर्षाका कारण बागमतीको बाढी निकै बढेकाले डरलाग्दो गरी कटान गरिरहेको वडा अध्यक्ष गिरीले गुनासो गरे।

हालसम्म सयौं विगाह खेतियोग्य जमिन कटान गरेर झारिसकेको र समयमै नियन्त्रण नगरे खोला बस्तीमै पस्ने त्रासले स्थानीय चिन्तित बनेका छन्। तत्काल पक्की तटबन्ध निर्माण नगरे नदी सोझै बस्तीमा पस्ने जोखिम बढेको स्थानीय ईन्द्र न्यौपानेले गुनासो गरे।

पहिला पश्चिम धार हिँडेको बागमतीले पछिल्लो केही वर्ष यता धार परिवर्तन गरेर पूर्वतर्फ मोडिँदा खेतीयोग्य जमिन कटान बढेको र यही रप्mतारमा कटान बढिरहे गाउँ नै बगाउने त्रास रहेको वडा अध्यक्ष गिरीले जानकारी दिए। खर्सालघाटबाट बाढी पसे बरहथवा नगरपालिकाको वडा नम्बर १, ३, १४ र १५ सहित बसबरिया र रामनगर गाउँपालिकाका दर्जनौं बस्तीसमेत डुबानमा पर्ने खतरा रहेको स्थानीय बासिन्दाले बताएका छन्।

बागमतीको कटानले केरा, उखु, धानलगायत लाखौंको अन्नबाली नष्ट गरी बगरमा परिणत गरेको स्थानीय पीडित बासिन्दाहरुको गुनासो छ। अविरल वर्षाका कारण बागमती नदीमा पटक–पटक बाढी बढेर खतराको स्थितिमा पुगेकाले खर्सालघाटमा खेतियोग्य जमिन कटानले डरलाग्दो अवस्था निम्त्याएको वडा अध्यक्ष गिरीले गुनासो गरे।

हाल केही ठाउँमा सिमेन्टको बोरामा माटो र बालुवा भरेर अस्थायी तटबन्ध निर्माणको काम भइरहेपनि खोलाको बेग बढी रहेकाले थेग्न सक्ने अवस्था नरहेको उनले बताए।

प्रकाशित: १७ श्रावण २०७६ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App