समाज

ग्रामीण सडक बन्द हुँदा खच्चडको भर

रोल्पा नगरपालिका वडा न. ९ मा सदरमुकामबाट खच्चडमा खाद्यान्न लैजादै। फोटो: दिनेश/नागरिक

रोल्पा - बर्खा लागेसँगै  बाढी र पहिरोका कारण रोल्पाका अधिकांश ग्रामिण सडक बन्द छन्। बाताबरणिय मुल्यांकन नगरी र प्राविधिकको सल्लाह बिनै निर्माण भएका सडक अब हिउँमा मात्रै खुल्ने अवस्थामा छन्। दुर्गम गाउँका सडक मात्रै होइन सदरमुकाम भित्रका सडक पनि ठप्प छन्।

रोल्पा नगरपालिका वडा न. ५ जेदवाङ, ९ होमा, १० धवाङ लगायतका स्थानमा सडक बन्द भएपछि खच्चडले खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ।  गाउँमा कोही बिरामी भए पनि डोकोमा बोकाएर अस्पताल ल्याउनु पर्छ। ‘असार लागेदेखि बाटो बन्द छ।  खोलामा पुल छैन।  पहिरो त सोहोरिन्थ्यो। ’ वडा न. ९ होमाका अध्यक्ष मिमबहादुर घर्तीले भने ‘बर्षात भरि कोहि बिरामी भयो भने ढोकोमा बोकाएर दौडाउनु पर्छ।  खाद्यान्न खच्चडले बोकाएर ढुवानी गराउनु पर्छ।  सदरमुकाम नजिक भन्ने मात्र हो हामी त दुर्गममा छौ। ’

पश्चिम रोल्पाको तालाबाङ हिले, राङसी, रांङकोट, थबाङमा सवारी साधन चल्न सकेका छैनन भने घर्तीगाउँबाट पश्चिमतर्फ ओत, जिनाबाङ, पाखापानी, राक तिरका सडक पनि बन्द छन्।  जलजला बस ब्यबसायी समितिका यज्ञश्वर आचार्यका अनुसार नियमित सवारी साधन चल्ने धेरै गाउँमा गाडी चल्न सकेका छैनन् भने चल्ने रुटमा पनि आधा बाटोसम्म मात्रै गाडी गुड्छन्।

बाताबरणीय परीक्षण र प्राविधिक हिसावले ननापेर खनिएका यि सडकहरु हरेक बर्षातमा बन्द रहने गर्दछन्।  पूर्वी रोल्पाका पनि धेरै गाउँहरु यतिबेला सडकबाट छुट्टिएका छन्।  गाम, स्युरी, सेरम, हार्जङ, गुम्चाल लगायतका साबिकका गाबिसका स्थानीयहरु सडक संचालनमा नआएपछि मारमा परेका हुन्।  हिउद लागेपछि खुल्ने यि अधिकांस सडकहरु अवरोध भएपछि सबैभन्दा बढी बिरामी मारमा परेका छन्।

प्रकाशित: १६ श्रावण २०७६ ०७:५८ बिहीबार

पहिरो बाढी ग्रामीण_सडक