समाज

रसुवामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सुरु

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएपछि विवरण दर्ता भर्पाइ लिँदै जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्ट तस्बिर/हिमनाथ

रसुवा– रसुवामा बुधबारदेखि राष्ट्रिय परिचयपत्र निर्माणका लागि विवरण दर्ता सुरु भएको छ।

सुरुमा जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्ट, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ र जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१ की दावा चिमो तामाङको विवरण दर्ता गरिएको थियो। बुधबार १० जनाको विवरण दर्ता भएको छ।

परिचयपत्र निर्माणका लागि विवरण दर्ता गर्न जिल्ला प्रशासन कार्यालयमा दुईवटा डेक्स स्थापना गरिएको छ। दैनिक ८० वटा विवरण दर्ता गर्न सकिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘हामीले कार्यालयमा दुईवटा डेक्स स्थापना गरेका छौँ,' उनले भने, 'एउटा डेक्सबाट दैनिक ४० जनाको विवरण दर्ता गरिन्छ।’

एउटा विवरण भर्न १५ मिनेट लाग्छ। डेक्समा दुई जना प्राविधिक राखिएको छ। विवरण भर्दा २०७० को मतदाता परिचयपत्रलाई म्याच गराइन्छ। वर्षा अवधिभर कार्यालयबाट मात्रै विवरण सङ्कलन गरिन्छ। वर्षा सकिएपछि घुम्ती शिविर मार्फत विवरण सङ्कलन गरिने छ।

यसका लागि १० वटा स्थान छनोट गरिने छ। जिल्लाको २७ वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए। परिचयपत्र निर्माण गरेपछि नेपाली नागरिकको व्यक्तिगत तथा जैविक विवरणसहितको  विवरण खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तयार गरिने छ।

परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले तोकेको निकाय वा अधिकारी समक्ष तोकिए अनुसारको ढाँचामा निवेदन दिनुपर्छ।

निवेदन दिँदा परिचयपत्र प्राप्त गर्न चाहाने व्यक्तिले वा केन्द्रले तोकेको निकाय वा अधिकारीलाई डिजिटल तस्बिर, दुवै हातका १० औलाका डिजिटल छाप, हस्ताक्षर लगायत व्यक्तिगत तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ।

प्रकाशित: १५ श्रावण २०७६ १२:५४ बुधबार

राष्ट्रिय_परिचयपत्र विवरण_दर्ता