समाज

महानगरका ४२ विभिन्न गुरुयोजना तयार

काठमाडौं– काठमाडौं महानगरपालिका शहरी योजना आयोगले ४२ वटा योजनाको गुरुयोजना तयार पारेको जनाएको छ। आयोगले मंगलबार पत्रकार सम्मेलनमार्फत गत आर्थिक वर्ष २०७५/७६ का लागि ४२ वटा विभिन्न योजनाका गुरुयोजना तयार पारी कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकालाई सिफारिस गरेको छ।

काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले आयोगले तयार पारेको ४२ योजनाका गुरुयोजना कार्यान्वयनका लागि महानगरपालिकालाई सिफारिस गरिएको बताए। ‘आयोगले तयार पारेका योजना कार्यान्वयन गर्नका लागि कम्तिमा ९५ करोड ९६ लाख लागत लाग्ने देखिन्छ,’ बस्नेतले भने।

आयोग उपाध्यक्ष बस्नेतले महानगरपालिकाले चालू आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा आयोगले सिफारिस गरेका अधिकांश आयोजना समावेश गरेको बताए। ‘महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा आयोगले सिफारिस गरेका योजना समेटिएका छन्,’ उनले भने, ‘कुनै आयोजना ६ महिनामै सम्पन्न हुने खालका छन् भने कुनै तीन वर्ष लाग्ने देखिन्छ।’

आयोगका अनुसार उक्त ४२ वटा योजनाको गुरुयोजना आयोगले सञ्चालन गरेको ‘करियर क्याम्प’का सहभागीले तयार पारेका हुन्। तयार पारिएको योजनामा चेसपार्क, ध्यान्दो चैत्य गार्डेन, चल्खु गणेश, शिलखाना पार्क, ध्याचाखुपाटी, कमलपोखरी संरक्षण योजना, किरियापुत्री भवन, न्यासोद मन्दिर, टुँडालदेवि मन्दिर, ब्रह्मचक्र मन्दिर, ज्येठ नागरिक पार्क, वडा कार्यालय भवन, शान्ति नमुना पार्क, सत्तल पाटी, त्रिपुरेश्वर पार्क लगायतका योजना रहेका छन्।

ती गुरुयोजना बनाउँन झण्डै डेढ करोड खर्च भएको आयोगले जनाएको छ। उक्त योजना काठमाडौं महानगरपालिका, उपभोक्ता समिति, कर्पाेरेट सोसल रेस्पोन्सिविलिटीअन्तर्गत निर्माण गर्ने योजना रहेको छ। ‘पहिला डिजाइनमा समय दिन नपरोस् भन्ने गरिन्थ्यो,’ उनले भने, ‘अहिले सम्पूर्ण आवश्यक तयारी पूरा गरेर गुरुयोजना तयार पारेका हौं। त्यसैले गुरुयोजना अनुसार कार्यान्वयन गर्न कुनै अप्ठेरो पर्ने छैन।’

प्रकाशित: १५ श्रावण २०७६ ०३:२४ बुधबार

काठमाडौं_महानगरपालिका गुरुयोजना