समाज

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं - नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल पत्रकार महासंघको सहकार्यमा प्रादन गरिने यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार २०७५, नागरिक दैनिककी पत्रकार रूबी रौनियारलाई प्रदान गरिएको छ।

मंगलबार महासंघकै प्रङ्गणमा आयोजना गरिएको एक कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पत्रकार रौनियारलाई ५१ हजार नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरेका थिए। 

पत्रकार रौनियार नागरिक दैनिकमा विगत ११ वर्षदेखि शिक्षाविटमै कलम चलाउँदै आएकी छिन्। पत्रकार रौनियारालाई नेपालको शैक्षिक विकासमा पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा पत्रकार रौनियारसहित विभिन्न सात प्रदेश,  उपत्यका  र प्रोत्साहन गरी कुल ३९ जनालाई पुरस्कार प्रादन गरिएको थियो।

यसैगरी सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट १/१ जनालाई प्रदान गरिने २० हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७५, नागरिककर्मी सरिता श्रेष्ठसहित  ८ जनाले प्राप्त गरेका छन्।

यसै गरी  नागरिकर्मी शरद अधिकारी, सविता श्रेष्ठ,गोविन्द केसी र  रोहित राईसहित १६ जनाले १५ /१५ हजार नगद र प्रमाणपत्रसहित प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्। 

यस वर्षदेखि लैंगिक समानता पुरस्कार तीन जनालाई प्रदान गरिएको हो। संस्थागततर्फ छापाबाट शिक्षालय मासिक(ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम, र टेलिभिजनबाट जनता टिभीलाई २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

एफएमतर्फ २० हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश १ बाट  तमोर एफएम, प्रदेश २ बाट रेडियो अपन मिथिला, प्रदेश ३ बाट रेडियो सन्देश, गण्डकी प्रदेशबाट ह्याप्पी एफएम, प्रदेश ५ बाट रेडियो मदनपोखरा, कर्णाली प्रदेशबाट रोडियो शारदा, सुदूरपश्चिमबाट रेडियो जनप्रिय र उपत्यकाबाट क्यापिटल एमएम काठमाण्डौंलाई प्रदान गरिएको छ।

कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पत्रकारितालाई प्रविधि मैत्रि बनाउनु पर्नेमा जोड दिए। उनले अबको पुरस्कार नगद भन्दा पनि प्रविधि सामाग्रीहरु उपलब्ध गराउनु पर्ने सुझाए। पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले यसै वर्षदेखि लैंङिक समानता पुरस्कारको ब्यवस्था गरि महासंघ नयाँ ढंगबाट अघि बढेको बताए। ‘३९ जनाको  छनौट हाम्रोलागि कम चुनौति थिएन। छनौट समीतिले लेखाइ, प्रस्तुति, सक्षमता, विषषबस्तुलाई आधार बनाएर योगदानको कदर गर्दै पुरस्कारकोलागि नाम छनौट गरिएको हो,’ अध्यक्ष आचार्यले भने‘महासंघ सधैं पत्रकारहरुको हकहितकोलागि संघर्ष गरिनै रहने छ।’

प्रकाशित: १४ श्रावण २०७६ ११:१३ मंगलबार

पुरस्कार पत्रकारिता