समाज

दोस्रो पटक म्याद थपमा पनि सकिएन कालोपत्रे

ओखलढुंगा– ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रे गर्ने दोश्रो पटकको म्याद थपिदाँ पनि काम सकिएको छैन्। आयोजनाको म्याद जेठ १६ गतेका दिन असार ३१ गतेसम्मका लागि दोश्रो पटक म्याद थप गरिएको थियो।

सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडा जिरो प्वाईन्टदेखि सिद्धिचरण नगरपालिका–४ रुम्जाटार एयरपोर्ट गेटसम्म ११.१ किलो मिटर लम्बाई र कुल ७ मिटर चौडाई सडकको कालोपत्रे गर्ने जिम्मा तामाङ्ग कुमार जे.भीले जुन १२, सन् २०१७ मा लिएको थियो। कालोपत्रेको सम्पुर्ण काम डिसेम्बर ३०, २०१८ मा सम्पन्न गर्नुपर्ने भए पनि नसकिएपछि पहिलो पटक मे ३०, २०१९ अर्थात २०७६ जेठ १६ गतेसम्मका लागि म्याद थप गरिएको थियो। पहिलो पटक थपिएको समय सिमाभित्र काम नसकिएपछि दाश्रो पटक म्याद थपिएको हो।

दोश्रो पटक थपिएको म्याद सकिदाँसम्म आयोजनाको मात्र ७० प्रतिशत काम भएको सकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ओखलढुंगाका प्रमुख युवराज खरेलले नागरिक न्यूजलाई बताए। रमाईलोडाँडा जिरो प्वाईन्टदेखि सिस्नेखोलासम्म करिब चार किलोमिटर सडकको मात्र ब्लाकटप गरिएको छ।

ओखलढुंगादेखि रुम्जाटारसम्म कुल लम्बाई ११.१ किलोमिटर मध्य चार किलोमिटर ब्लाकटप गरिएको प्रमुख खरेलले जानकारी दिए। बाँकी भागमा सवबेस र ढलको काम भएको छ। आयोजनाको पुनः म्याद थपका विषयमा टुंगो नलागेको प्रमुख खरेलको भनाई छ। ‘दाश्रो पटक विशेष कारणले म्याद थप भएको हो। अब पुनः म्याद थप हुने सम्भावना कम छ’ प्रमुख खरेलले भने ‘म्याद थप नभए निर्माण कम्पनीले हर्जनासहित काम सम्पन्न गर्नुपर्छ।’ दोश्रो पटक समय थप हुदाँ निर्माण कम्पनीले खासै काम नगरेको उनको भनाई छ।

ब्लाकटप गरिएको चार किलोमिटरमा पनि फाइनल कालोपत्रे गर्न बाँकी छ। यसका साथै केही साताको अविरल वर्षाका कारण निर्माण कम्पनीले निर्माण गरेको बेस सव–बेस, नाली पुनः निर्माण गर्ने गरी क्षति पुगेको छ। यस विषयमा जानकारी लिन खोज्दा सडकको कालोपत्रे गर्ने जिम्मा लिएको तामाङ्ग कुमार जे.भीका लेखजङ्ग तामाङ्गलाई सम्पर्क हुन सकेन।

जुन १२, सन् २०१७ भ्याट सहित २० करोड ६८ लाख १४ हजार ९ सय १८ रुपैयाँ ९२ पैसा लागतमा ११.१ किलोमिटर कालोपत्रे गर्ने ठेक्का तामाङ्ग कुमार जे.भीले लिएको थियो। भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालिन भूकम्पीय सहयोग परियोजना अन्तरर्गत ओखलढुंगा–रुम्जाटार सडक कालेपत्रे सुरु गरिएको हो। 

प्रकाशित: १४ श्रावण २०७६ १०:३२ मंगलबार

ओखलढुंगा–रुम्जाटार_सडक कालोपत्रे