समाज

खोलामा डोजर लगाउनेविरुद्ध स्थानीय, कारबाही माग गर्दै प्रशासनमा

धादिङ- जथाभावी स्काभेटर लगाएर खोलाको दोहन गरेको र आफ्नो रोजीरोटी खोसिएको भन्दै दरियाँल खोलाका स्थानीयहरुले प्रशासन गुहारेका छन्। गजुरी गाउँपालिका वडा नं ६ दरियाँल खोला आसपासका स्थानीयहरु गुहार माग्दै जिल्ला प्रशासन कार्यलय धादिङ आइपुगेका हुन्। सोमबार पीडित स्थानीयको टोली प्रशासन आई प्रमुख जिल्ला अधिकारी समक्ष न्यायको माग समेत गरेका छन्।

                जथाभावी खोलामा डोजर लगाएर खोलाको बहाव नै परिवर्तन गरिदिएको, खोलामा बालुवा निकाल्ने मदजुरहरुको रोजीरोटी खोसिदिएको पीडीत स्थानीयहरुले बताएका छन्। खोलामा ठूला ठूला खाल्डाहरु बनाइदिएर मेलापात आवत जावत गर्दा ज्यान नै जोखिममा परेको भन्दै तत्काल मेसिन लगाउने काम बन्द गराइदिन माग गर्दै स्थानीयहरुले केहीवेर जिल्ला प्रशासन कार्यलय घेराउन नै गरेका छन्।

                जनप्रतिनिधिहरु नै अवैध काममा लागिरहेको र स्थानीयहरुले विरोध जनाउँदा उल्टै स्थानीय बासीहरुलाई ज्यान मार्ने धम्की दिएको खोलामा बालुवा निकाल्ने काम गर्ने मजदुर राजकुमार चेपाङले बताए। ‘हामी यही बर्खामा दुई महिना काम गरेर छ महिनाको खर्च जुटाउने गरेका थियौँ,’ उनले भने, ‘अहिले मनलाग्दी जताततै डोजर लगाइदिएर हाम्रो रोजीरोटी खोस्ने काम भएको छ।’

                गाउँपालिका र वडा कार्यलयमा पटक पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर जिल्ला आउन परेको अर्का स्थानीय बिमला चेपाङले बताइन्। ‘नदी तथा खोलाहरुमा मेसिन लगाउनै पाइदैन भन्ने थाहा हुँदा हुँदैपनि गाउँपालिकामा जनप्रतिनिधिहरुकै मिलेमतोमा अवैध काम भइरहेको छ’, उनले भने, ‘हामीले चुनाव जिताएको वडा सदस्य ध्रुव सुवेदीलाई जथाभावी डोजर नलगाउ भन्दा मलाइ आपत्तीजनक शब्द प्रयोग गरि ज्यान मार्ने धम्की दिए।’ प्रहरी प्रशासनले सुरक्षाको ग्यारेन्टी पनि गरिदिन स्थानीयले माग गरेका छन्।

                उनीहरुले खोलाको प्राकृतिक बहाव नै परिवर्तन गरि सार्वजनिक जमिन तथा खोलाहरुमा जभाभावी डोजर लगाएको भन्दै तत्काल डोजर लगाउने काम बन्द गराइदिन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यलय धादिङमा ज्ञापन पत्र बुझाएका थिए। स्थानीयहरुको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले मेसिन लगाएको देख्ने वित्तिकै प्रहरीले कब्जामा लिने गरेको जिकिर गरे। ‘नदी तथा खोलामा मेसिन लगाउन पाइदै पाइदैन’, उनले भने ‘सुचना पाउने वित्तिकै प्रहरी लगाएर हामी कारवाही गराइहाल्छौँ।’

                शुक्रवार बिहान ४ बजे इलाका प्रहरी कार्यलय गजुरीले खोलामा स्काभेटर लाइरहेको अवस्थामा चालक र स्काभेटर नियन्त्रणमा लिइ स्काभेटर साँचो जिल्ला समन्वय समितिमा बुझाएको थियो। जिल्ला समन्वय समितिमा ५० हजार जरिवाना तिरेर डोजर साहुले डोजरको चाबी फिर्ता लगिसकेको जिल्ला समन्वय समितिले जनाएको छ। त्यस्तै आइतवार पनि खोलामा दिउँसै डोजर लगाइरहेको अवस्थामा स्थानीयबासीले दुई वटा डोजर कब्जामा लिएपछि चालक र बालुवा झिक्न लगाउने ध्रुव सुवेदी फरार भएका थिए। सुवेदी गजुरी गाउँपालिकाको वडा नं ६ को वडा सदस्य।

प्रकाशित: १४ श्रावण २०७६ ०९:०१ मंगलबार

अवैध उत्खनन बालुवा