समाज

भारतीय गाडीबाटै गाँजा तस्करी

बरामद गाँजा र भारतीय गाडी। तस्बिरः नागरिक

वीरगन्ज– प्रतिबन्धित लागुऔषध गाँजा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरीले एउटा भारतीय नम्बरको बोलेरो जीपसहित चारजना भारतीय गाँजा तस्करलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटाइएको प्रहरी टोलीले सुक्खा बन्दगाह नजिक वीरगंज–२५, बहुअरीबाट बिआर २८ जी २७७० नम्बरको बोलेरो गाडीमा बनाइएको ‘फल्स बटम’भित्रबाट गाँजा बरामद गरेको हो।

गाडीसहित भारत बिहार पूर्वी चम्पारण जिल्ला बिशुनपुर–३ का ३१ वर्षीय नुरमहमद हुसेन, पूर्वी चम्पारण फुलबरिया–११ का ३२ वर्षीय असलमआलम साइन, सोही ठाउँ बस्ने २८ वर्षीय ईर्साद साइन र पूर्वी चम्पारण शीतलपटी बस्ने ३० वर्षीय सुनिल साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

चेकजाँच गर्ने क्रममा बिहान करिब सवा ६ बजे नेपालबाट भारततर्फ जाँदै गरेको उक्त बलेरो गाडी रोकी चेकजाँच गर्दा गाडीको तल ‘फल्स बटम’ बनाई लुकाइछिपाइ राखिराखेको करिब ८९ किलो गाँजा फेला परेको प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताए। संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई कारबाहीअगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।

पछिल्लो समय पर्सा गाँजा ढुवानीको ट्रान्जिटको रुपमा प्रयोग हुँदै गएको देखिएको छ। मकवानपुर, चितवन र धादिङमा अवैधरूपमा उत्पादन भएको गाँजा तस्करहरूले पर्सा पु-याउने गरेका छन्।

यहाँबाट विभिन्न सवारीसाधन र भरियाहरूलाई प्रयोग गरी सीमापारि गाँजा लैजाने गएको छ। पर्सा प्रहरी लागुऔषध तस्करलाई नियन्त्रण गर्न लागिपरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरको दाबी छ।

चालू आर्थिक वर्षको साउन सुरु भए यता १५ दिनभित्र भारी परिमाणमा गाँजा बरामदको यो दोस्रो घटना हो। यसअघि साउन २ मा पर्सा प्रहरीले मोटरसाइकल र भारतीय नम्बरकै गाडीमा एक सय २० किलोग्राम गाँजा लैजाँदै गरेको अवस्थामा फेला पारेको थियो। उक्त घटनामा पनि चारजना पक्राउ परेका थिए।

प्रकाशित: १४ श्रावण २०७६ ०८:३१ मंगलबार

भारतीय_गाडी तस्करी गाँजा