समाज

संख्या बढ्दा, व्यवस्थापनमा चुनौती

काठमाडौं - नेपालमा दश वर्षको अवधिमा लापोन्मुख पाटेबाघको संख्या १ सय २१ बाट बढेर २ सय ३५ पुगेको छ। दश वर्षको अवधिमा भएका संरक्षणको प्रभावकारिता तथा चोरी सिकारीका कमीका कारण बाघको संख्या बढेको हो। साथै, बाघको बासस्थान तथा बाघको आहाराका रुपमा रहने अन्य वन्यजन्तुको संख्या बढ्दा पनि बाघको संख्या बढेको संरक्षणकर्मीहरु बताउँछन्।

सन् २०१३ को गणनामा बाघको संख्या १ सय ९८ थियो। त्यो बेला चितवनमा मात्रै १ सय २० बाघ थिए। सन् २००९ मा भने बाघको संख्या १ सय २१ थियो। प्रत्येक चार चार वर्षमा बाघ गणना हुने गरेको छ। डमरुको मृत्युदर अत्यधिक हुने हुँदा बाघको गणना गर्दा तीनलाई गणना गरिएको हँुदैन।

बाघको बासस्थान भएका नेपाललगायत १३ देशको सन् २०१० देखि अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालेका हुन्। सन् २०१० मा रुसको पिटसबर्गमा भएको बाघको वासस्थान भएका मुलुकका प्रमुखहरुको पहिलो सम्मेलनले बाघ संरक्षणलाई प्रभावकारी बनाउन २९ जुलाईलाई बाघ दिवसका रुपमा मनाउने प्रतिबद्धता गरे। सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या तत्कालीन अवस्थाबाट दोब्बर पार्ने घोषणा पनि गरियो।

बाघ गणना पश्चात गत वर्ष सार्वजनिक तथ्यांकअनुसार नेपालको पर्सामा १७, चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २९ तथा शुक्लाफाँटामा १६ गरी २ सय २५ बाघ छन्। विश्वबाटै लोप हुने अवस्थामा पुगेको पाटेबाघको संख्या बढ्नु उत्हासप्रद भए पनि बाघको संख्या बढेसँगै संरक्षण लगायतका चुनौती पनि थपिएको छ।

बाघ संरक्षण कार्ययोजना अभाव
बाघको संख्या बढेअनुसार संरक्षणका कार्यक्रम प्रभावकारी हुन नसकेको सम्बद्ध विज्ञहरु बताउँछन्। ‘बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता गरिएसँगै सरकारले सरकारी कोष जुटाएर ‘बाघ संरक्षण विशेष कार्यक्रम’ सुरु गरेको थियो तर पछि सो कार्यक्रमलाई सरकारी नियमित कार्यक्रमको ढाँचामै पु¥याइयो जसले गर्दा कार्यक्रमको प्रभावकारिता घटेको छ। त्यस्तै, बाघ संरक्षणमा विशेष उपलब्धि हासिल गर्ने उद्देश्यका साथ विश्व बैंकको सहयोगमा सञ्चालित ‘वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग अभिवृद्धि’ परियोजना पनि प्रभावकारी हुन सकेको छैन,’ संरक्षणविद् नवराज चापागाईं भन्छन्।

बिरालो प्रजातिको संख्या बढ्न तथा घट्न बेर नलाग्ने हुँदा बाघको संख्या बढ्यो भन्दैमा रमाउनुपर्ने अवस्था नभएको उनी बताउँछन्। ‘बाघको संरक्षणमा मुख्य समस्या भनेको संख्यामा आधारित व्यवस्थापन हो सो जुन हुन सकेको छैन,’ उनी भन्छन्, ‘एउटा बाघले ओगोट्ने स्थान, सो स्थानमा उसलाई आहारा चाहिने जीवजन्तुको उपलब्धता, खेल्ने धाँसे मैदान तथा खाने पानीको उचित व्यवस्थापन हुन सकेन भने बढेको संख्या ह्वात्तै घट्न बेर लाग्दैन।’

नेपालमा सबैभन्दा धेरै बाघ पाइने क्षेत्र चितवनमा सन् २००९ मा ९१ बाघ थिए तर त्यति बेलाको गणनामा चुरे क्षेत्र समेटिएको थिएन। अर्को वर्ष सन् २०१० मा चुरेसहित गणना गर्दा चितवनमा बाघको संख्या १ सय २५ थियो। सन् २००९ को तुलनामा बाघको संख्या बढेको देखिए पनि सन् २०१० को तुलनामा संख्या बढेको नभई सन्तुलनमा रहेको चापागाईंको तर्क छ। सन् २०१० मा स्थापित बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २००० मा ४० वटा बाघ थिए, जुन संख्या घटेर सन् २००९ मा १८ पुगेकोमा अहिले बढेर ५० पुगेको छ। शुक्लाफाँटामा सन् २००९ मा ८ बाघ रहेकोमा हाल १७ पुगेका छन्, जबकि सन् २००० मा त्यहाँ २३ वटा बाघ थिए। पछिल्लो तथ्यांकअनुसार कपिलवस्तु र दाङमा पनि बाघको बासस्थान रहेको पाइएको थियो।
बाघ बढ्यो, चुनौती थपियो

‘चोरीसिकारी को समस्या अझै पनि प्रमुख समस्या हो। बाघको बासस्थान क्षेत्रमा माइकेनिया लगायतका मिचाहा प्रजाति बढ्दै जानु, बाघको आहारा प्रजातिको लागि उपयुक्त घाँसे मैदान घट्दै जानु, पानीका स्रोत सुक्दै जानु बाघ संरक्षणका चुनौती हुन्,’ चापागाईं भन्छन्।

सशस्त्र द्वन्द्वको अवस्थामा सुरक्षाको कमीले गर्दा बढेको चोरीसिकारी द्वन्द्वपश्चात नियन्त्रित हुँदा बाघको संख्यामा उल्लेख्य सुधार आएको हो। ‘बाघ बढ्नुमा बढ्दो जनचेतना र संरक्षण कार्यक्रमको प्रभावकारिता तथा नयाँ राष्ट्रिय निकुञ्जको स्थापनालगायतका कारण छन्,’ चापागाईं भन्छन्, ‘मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने प्रभावकारी कार्यक्रम अभावमा बाघको संख्या बढ्दा जंगल र आसपास बस्नेहरु बाघको आक्रमणमा पर्न सक्छन्।’

उनका अनुसार केही वर्ष यता चितवन निकुञ्ज बाहिर निस्केका बाघमध्ये अधिकांश अर्ध–वयश्क बाघ भएको र सन् २०१० तथा अहिलेको बाघको संख्या लगभग बराबर देखिँदा चितवनमा बाघको संख्या उच्चतम अवस्थामा पुगेको छ। ‘बाघले जंगलमा आफ्नो क्षेत्र निर्धारण गरी उक्त क्षेत्रमा अर्को बाघलाई बस्न नदिई लखेट्छ। तसर्थ जंगलको क्षमताभन्दा बाघको संख्या धेरै भए अफ्नो क्षेत्र ओगट्न नसक्ने बुढा, कमजोर र अर्ध–वयस्क बाघ जंगलबाहिर निस्कन बाध्य हुन्छन् र सिकारको लागि घरपालुवा जनावर र मानिसलाई समेत आक्रमण गर्छन्,’ उनी भन्छन्, ‘तसर्थ, अबको बाघ संरक्षण रणनीतिले बाघ–मानवबीचको द्वन्द्व न्यूनीकरण गर्ने प्रभावकारी उपाय अवलम्बन गर्नुपर्छ।’

उनका अनुसार चितवनमा बाघको संख्या उच्च बिन्दूमा पुगेकाले त्यहाँ बाघको संख्या बढाउन नसकएिला तर पर्सा र बाँकेमा बाघको घनत्व निकै कम भएकाले त्यहाँ बाघको संख्या बढाउन सकिन्छ। ‘बर्दिया र शुक्लाफाँटाको बाघको घनत्व पनि चितवनको जति पुग्न लागेको हुँदा बर्दिया र शुक्लाफाँटाले चितवनको भन्दा बढी घनत्वमा बाघ थेग्न सक्छ कि सक्दैन भन्ने समीक्षा गरिनुपर्छ,’ उनी बताउँछन्।

संरक्षण अनसुन्धानकर्ता डा. बाबुराम भटट्राई राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा बढेसँगै चुनौती पनि बढेको बताए। ‘बाघको संख्या बढ्दै गयो भने बाघ वन क्षेत्रबाट बाहिर जानसक्ने चुनौती पनि बढ्छ। बाघको वासस्थान सुधारका काम गर्न सकिएन भने बाघलगायत अन्य वन्यजन्तु पनि घट्छन्,’ भटट्राई भन्छन्, ‘त्यस्तै वन्यजन्तु तथा मानव द्वन्द्वलाई ठ्याक्कै रोक्न नसकिए पनि घटाउन भने सकिन्छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिहरुले निकुञ्जबाट प्राप्त राजश्वलाई मानव–वन्यजन्तु रोकथाम तथा न्यूनीकरणमा लगाउनु सकारात्मक देखिएको छ।’ गत वर्ष वन्यजन्तुको कारण ३० जनाको मृत्यु भएको थियो जसमा ४ जनाको मृत्यु बाघको आक्रमणका कारण भएको थियो।

‘मानिसहरु निकुञ्ज क्षेत्रमा घाँस दाउरा, चौपाया चरणका लागि जाँदा नै आक्रमणमा परेका छन्’ अनुसन्धानकर्ता भट्टराई भन्छन्, ‘निकुञ्ज आसपास बस्नेहरुको निकुञ्ज निर्भरता घटाउन सकियो भने पनि मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सकिन्छ।’

विश्वभर बाघको संख्या ३ हजार ८९० रहेको छ। विश्वभर रहेका झन्डै तीन हजार बाघमध्ये भारतमा सबैन्दा बढी बाघ छन्। बाघको उपलब्धताको हिसाबले नेपाल आठौं स्थानमा पर्छ।
बाघ दिवस बर्दियामा

सन् २०१९ मै नेपालमा बाघको संख्या लक्ष्य नजिक पुग्नुलाई संरक्षणकर्मीले सकारात्मक रूपमा लिएका छन्। सधैं काठमाडौ केन्द्रित कार्यक्रम हुने गरेकोमा यस वर्ष बाघको बासस्थानमै बाघ दिवस मनाउन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठ बताउँछन्।

बाघ संरक्षणमा बर्दिया राष्ट्रिय निकुञ्जले निकै प्रगति गरेको छ। २०६७ सालमा स्थापित बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य रुपमा बढेको छ। ‘त्यही भएर कार्यक्रम पनि त्यहीँ राखिएको हो,’ श्रेष्ठले बताए, ‘बाँके राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र कोहलपुर, पूर्वी क्षेत्र कुसुम तथा निकुञ्ज मुख्यालयमा कार्यक्रम गर्नेछौं।’ कार्यक्रममा निकुञ्ज मध्यवर्ती क्षेत्रका उपभोक्ता, स्थानीय सरकार, जनप्रतनिधि, स्थानीय वासिन्दा, संरक्षणकर्मीबीच बाघ संरक्षण र चुनौती विषयमा अन्तरक्रिया हुने उनले बताए।

बाँकेमा हुने कार्यक्रममा संघका वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, ५ नम्बर प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारीलगायत सहभागी हुने दिवसले बाघ संरक्षणका चुनौती पहिचान गर्ने अपेक्षा गरिएको विष्णु श्रेष्ठले बताए।

प्रकाशित: १३ श्रावण २०७६ ०२:१७ सोमबार

बाघ बाघ_दिवस चुनौती