समाज

छठकपुरमा जानकी रेल

काठमाडौं - आगामी छठभित्रै जयनगर–जनकपुर–कुर्था (धनुषा) मा ३५ किमि दूरीमा सञ्चालन गर्ने तयारी गरिएको दुईमध्ये एउटा रेलको नाम जानकी राखिएको छ। अर्को रेलको नाम सगरमाथा वा पशुपतिमध्ये एक राख्ने तयारी भएको रेलवे विभागले जनाएको छ। रेलवे विभागका महाप्रबन्धक बलराम मिश्रका अनुसार आगामी दसैं–तिहार वा छठसम्म जनकपुरमा गुडाइने रेलको सबै संचरना तयार भइसकेको छ। विभागले ८५ करोडमा दुईवटा आधुनिक रेल खरिद गर्न भारतको कोन–कोन रेलवे कर्पोरेसनसँग सम्झौता गरेको छ।

‘जयनगर–जनकपुर–कुर्था रुटमा चल्ने एउटा रेलको नाम जानकी राख्ने निर्णय भइसकेको छ भने अर्कोको नाम पशुपति वा सगरमाथा राख्ने विषयमा छलफल भइरहेको छ,’ महाप्रबन्धक मिश्रले भने, ‘सम्झौताअनुसार दुवैको संरचना तयार भइसकेको छ। दसैं–तिहारसम्म दुवै रेल जनकपुर आइपुग्ने छन्।’

नेपालले खरिद गरेका दुवै रेल डिजेलबाट चल्नेछन्। यसअघि नेपालमा डिजेल रेल चलेको थिएन, कोइला रेलमात्र चलेको थियो। हाल सञ्चालन गर्न लागिएको जनकपुर–जयनगर रेलमा प्रतिरेल एक हजार दुई सयभन्दा बढी मान्छे अटाउने छन्। विभागका अनुसार भारत र नेपाल दुवै देशका सरकार प्रमुखबाट रेलसेवा उद्घाटन गर्ने योजना छ।

केही दिनअघि आएको बाढीले जकपुरमा रेलको लिगमा क्षति पु-याएको थियो। क्षति भएको ठाउँमा चाँडै ममर्त गरिने विभागले जनाएको छ। ‘लिगमा भएको क्षतिको कारण रेल सञ्चालनमा कुनै अवरोध आउँदैन,’ मिश्रले भने। यसअघि जनकपुर–जयनगर रुटमा चल्दै आएको रेल २०७० सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। रेल चलाउन सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि सात अर्ब ७० करोड रुपैयाँ छुट्टयाएको थियो। चालू आर्थिक वर्षमा करिब चार अर्ब रुपैयाँ छुट्टयाएको सरकारले रेलका नाममा २०७० यता हरेक वर्ष छुट्याउँदै आएको छ।

जयनगर–जनकपुर–कुर्था रूटमध्ये करिब तीन किमि दूरी भारतमा पर्छ भने बाँकी ३२ किमि नेपालतर्फ पर्छ। विभागका अनुसार जयनगर–जनकपुर–कुर्था रूटमा रेल सञ्चालनमा आएको ६ महिनापछि साो रूटको दूरी थप १७ किमि बढाइनेछ। त्यसपछि जयनगरबाट आउने रेल महोत्तरीको विजलपुरासम्म पुग्नेछ। त्यसको दुई वर्षपछि भारत सरकारको सहयोगमा जयनगर–जनकपुर रेललाई बर्दिबाससम्म करिब ७० किमि दूरीमा विस्तार गरिनेछ।

यसैगरी भारतको बथहना–जोगबनी–विराटनगर रूटमा करिब आठ किमि दूरीमा रेल गुडाउने गरी संरचनागत तयारी पूरा भएको विभागले जनाएको छ। महाप्रबन्धक मिश्रका अनुसार प्रारम्भमा सो रेल यात्रुका लागि भन्दा पनि मालसामान ओसार्ने प्रयोजनका लागि हुनेछ। यसका लागि टेन्डर आह्वानसमेत भइसकेको छ। सरकारले पूर्व–पश्चिम (मेची–महाकाली) नौ सय ४५ किमि (लिंकसहित एक हजार ४७ किमि) दूरीमा रेल सञ्चालन गर्ने योजना बनाएको छ।

विभागका अनुसार मेची–महाकाली रेल सञ्चालन गर्न कुनै अवरोध नभई लगातार काम भए कम्तीमा १० वर्ष लानेग्छ। यसका लागि आठ खर्ब रुपैयाँ खर्च हुने अनुमान रेल्वे विभागको छ। जग्गाको मुआब्जासहित एक किमि रेल गुडाउन करिब ९० करोड रुपैयाँ खर्च हुन्छ। मिश्र भन्छन्, ‘तर छिठो–छरितो काम गर्न ठेक्का टेन्डर प्रक्रियामै सुधार गर्नुपर्छ। काममा अवरोध गर्न अदालतसम्म जाने प्रवृत्तिले भनेको समयमा काम गर्न गाह्रो हुन्छ।’

रेल्वे विभागले २० वर्षभित्र तीन हजार किमि दूरीमा रेल गुडाउने योजना बनाएको छ। यसका लागि करिब ३० खर्ब रुपैयाँ खर्च हुने अनुमान छ। काठमाडौ–रक्सौल रूटमा पनि रेल गुडाउने सरकारी योजना छ। यसका लागि पूर्वअध्ययन पू्रा भएको र डिपिआर तयार हुन बाँकी रहेको छ। महाप्रबन्धक मिश्रका अनुसार बहुचर्चित केरूङ–काठमाडौं ७२ किमि दूरीमा रेल गुडाउन पूर्वअध्ययनको काम पूरा भएको छ। चीन सरकारको सहयोगमा एक डेढ वर्षभित्रै विस्तृत अध्ययन सुरु गरिनेछ।

प्रकाशित: १३ श्रावण २०७६ ०१:३९ सोमबार

जानकी_रेल जयनगर–जनकपुर