समाज

वीरेन्द्रनगरमा अपेक्षा बढी मुद्दा फर्स्याैट

वीरेन्द्रनगर– वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समितिले अपेक्षाभन्दा बढी मुद्दा फर्स्येाट गरेको छ। गत आर्थिक वर्षमा ७७ मुद्दामध्ये उक्त समितिले ७४ वटा मुद्दा फर्स्येाट गरेको हो।

नगरपालिकामा अब तीनवटा मुद्दामात्र फर्स्येाट हुन बाँकी छन्। उक्त समितिमा सबैभन्दा बढी ४ नम्बर वडाबाट मुद्दा परेको न्यायिक समिति संयोजक तथा उपमेयर मोहनमाया ढकाल (भण्डारी) ले जानकारी दिइन्। वडा नम्बर १६ बाट हालसम्म न्यायिक समितिमा मुद्दा परेका छैनन् भने वडा नम्बर १३, १४ र १५ बाट एक÷एकवटा मुद्दा दर्ता भएका छन्।

घर बहाल, खाना खर्च, साध सिमाना, लेनदेन, ज्याला मजदुरी, घरेलु हिंसालगायतका मुद्दा दर्ता भएको न्यायिक समितिकी अभिलेखा अधिकृत कृष्णा लामिछानेले बताइन्। नगरपालिकाले मुद्दा दर्ता भएको चारदेखि १० दिनसम्ममा मुद्दा फर्स्येाट गरिसक्ने उनको भनाइ छ। सजिलो, छिटोछतिरो, कम खर्चमा न्याय पाइने हुँदा पछिल्लो समय न्यायिक समितिमा मुद्दा दर्ताको संख्या बढ्दै गएको उनले बताइन्।

न्यायिक समितिले दुवै पक्षबीच छलफल र परामर्शपछि सहमतिमै मुद्दाहरू फर्स्येाट गरिएको न्यायिक समिति संयोजक ढकालले बताइन्। उजुरीकर्ताले उक्त समितिप्रति विश्वास गर्नु र न्यायिक समितिले जिम्मेवारीपूर्ण ढंगले काम गर्दा मुद्दा फर्स्येाट धेरै भएको उनले बताइन्।

बिना झन्झट, कम खर्चमा न्याय पाएपछि यहाँका बासिन्दाको न्यायिक समितिप्रति विश्वास बढ्दै गएको छ। फर्स्येाट हुन बाँकी तीन मुद्दा छलफलकै प्रक्रियामा परेको नगरपालिकाको न्यायिक समितिले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०७६ १०:०९ आइतबार

वीरेन्द्रनगर मुद्दा फर्स्येाट