समाज

लागुऔषधकाे चक्रव्यूहमा युवा

बाँके– साउन ६ गते प्रतिबन्धित लागुऔषध ५० ग्राम ब्राउनसुगरसहित २७ वर्षीय उपेन्द्रकुमार चौधरी पक्राउ परे। लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले नेपालगन्जका चौधरीलाई जमुनाहास्थित नेपाल–भारत सीमाक्षेत्रमा चेकजाँचका गर्ने क्रममा नियन्त्रणमा लिएको थियो। चौधरीले चलाएर ल्याएको युपी२१एके ६३९८ नम्बरको मोटरसाइकलको ब्याट्री राख्ने ठाउँमा ब्राउनसुगर ल्याएर नेपाल आउँदै गरेका थिए। मंगलबार पक्राउ परेका चौधरी एउटा पात्र मात्र हुन्। उनीजस्ता युवा हरेक दिन नेपालगन्ज भन्सार र बाँकेका विभिन्न स्थानमा लागुऔषध प्रयोग गरिरहेको अवस्थामा भेटिन्छन्। कोही ओसारपासर गरिरहेका बेला प्रहरीको फन्दामा पर्छन्। तर, पनि पश्चिम तराईका जिल्लामा लागुऔषध नियन्त्रण हुन सकेको छैन।

एक वर्षअघिको घटना हो, महेन्द्र रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्न गएका बेला नेपालगन्जका पत्रकार जीवन पाण्डेको मोबाइल र ४० हजार चोरी भयो। रकम चोरी भएपछि पाण्डे प्रहरीको सम्पर्कमा पुगे। मोबाइलको ‘आइएमई कोड’ प्रहरीलाई दिएर आएका पाण्डेलाई दिउँसो चोरी गर्ने व्यक्ति पत्ता लागिसकेको खबर आयो।

चोरी गर्ने व्यक्ति थिए, रंगशाला वरिपरि लागुऔषध सेवनकर्ता। र, रंगशाला उनका लागि लागुऔषध सेवनको गर्नका लागि सुरक्षित स्थानमा पर्छ। जहाँ खेल्ने बहाना बनाउँदै उनका साथीले रंगशालाजस्ता सार्वजनिक ठाउँमा लागुऔषध सेवन गर्ने गर्छन्।

युवाहरूमा चुरोट, गाँजा, ड्रग्स र अन्य लागुऔषध प्रयोग गरेपछि आनन्द आउने, यौन शक्ति बढ्ने जस्ता भ्रमपूर्ण धारणाले पनि दुर्व्यसनमा युवालाई लाग्न सहयोग गरेको हुन्छ।


रंगशाला गएको बेला उनले लागुऔषध किन्ने पैसा जुटाउन चोरी गरेका थिए। तर, प्रहरीले नियन्त्रणमा लिँदा उनले १० हजार खर्च गरिसकेका थिए। यो घटनामा पाण्डेले उजुरी दिएनन्। आपसी सहमतिमा घटना मिल्यो।

यसरी लागुऔषध दुर्व्यसनमा परेका व्यक्तिले चोरी गर्ने घटना बाँकेमा सामान्य हुन लागेको बताउँछन्, पाण्डे। खुला सिमाना र फितलो सुरक्षा रणनीतिले बाँकेमा लागुऔषध दुर्व्यसनी र व्यापार बढिरहेको छ। त्यसको पुष्टि गर्छ, हरेक वर्ष बाँकेमा बढ्दै गएको लागुऔषध दुर्व्यसनीको घटनाले। लागुऔषध दुर्व्यसनीले हजारौँ युवा असमाजिक मात्र बनिरहेका छैनन्, शक्तिहीन पनि बनिरहेका छन्।

यसले भारतीय सिमानासँग जोडिएको बाँके र भारतीय सहरमा थुप्रै सामाजिक समस्या र अपराध बढाइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार २०७२÷०७३मा ७८ लागुऔषध घटना दर्ता भएका थिए। तर, गत वर्ष भने लागुऔषधको घटनामा पक्राउ गर्नेको संख्या बढेको छ। २०७३÷०७४ मा एक सय ३७ घटना दर्ता भएर मुद्दा चलेको थियो। २०७४÷०७५ मा एक सय ४५ मुद्दा दर्ता हुँदा तीन सय १० जना कारबाहीमा परे। त्यस्तै २०७५÷०७६ मा दुई सय ४९ मुद्दामा तीन सय ७६ जनालाई कारबाही गरिएको बताउँछन्, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापा। 

नेपालगन्ज वडा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको केही साता बित्न नपाउँदै प्रहरी निरिक्षक हरी बस्नेतले लागुऔषध मुख्य चुनौती भएको बताए। स्थानीय पत्रकारसँग भेटघाट गर्ने क्रममा बस्नेतले अन्य समस्या समाधान गर्न सहज भए पनि लागुऔषध नियन्त्रण गर्न बाँकेमा निकै चुनौती रहेको बताए।

लागुऔषध दुर्व्यसनमा फसेकाहरूको संलग्नता अन्य अपराधिक घटनामा हुने गरेको बताउँछन्, प्रहरी निरीक्षक बस्नेत। विशेष गरी चोरी, हत्या, तस्करजस्ता घटनामा लागुऔषध प्रयोगकर्ताको सम्बन्ध जोडिने गरेको छ।

युवा बढी संलग्न

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार लागुऔषध दुर्व्यसनी र ओसारपसारमा १३ देखि २५ वर्षको उमेरका युवायुवती बढी संलग्न भएको देखिन्छ। पूर्वलागुऔषध प्रयोगकर्ता समीर (नाम परिवर्तित)अनुसार असामाजिक व्यवहार हुनुको पछाडि दुर्व्यसनमा फसेका व्यक्ति घर, परिवार, समाजबाट बिस्तारै एक्लिँदै गएको महसुस गर्नुले पनि हो। उनले भने, ‘आफूलाई छुट्टै ग्रहबाट आएको मानिस सम्झन्छन्, दुर्व्यसनमा परेकाले। मभन्दा ठूलो कोही छैन। मैले जे गरे पनि हुन्छ। भन्ने जस्ता भावना जाग्छन्। यसले विस्तारै एक्लो बनाउँदै जान्छ। र, आफूजस्तै साथीको खोजीमा लाग्छन्।’
एउटा बच्चाको हुकाइसँगै समाज, परिवार, स्कुलले विभिन्न अपेक्षा राखेका हुन्छन्। हरेक अभिभावक आफ्नो बच्चा राम्रो बनोस् भन्ने सोच हुन्छ। किशोर अवस्थामा पुग्दा अपेक्षाका पहाड हुन्छन्। डरले ऊ भाग्न खोज्छ। यसरी डर हटाउने भन्दै दुर्व्यसनमा फस्दै जान्छन् युवाहरू।

लागुऔषध नपाउँदा मोजादेखि छिप्किलीसम्म

लागुऔषधले मानव शरीरमा उत्तेजना पैदा गर्ने, शान्त पार्ने, एकोहोरो गराउने, भ्रम पैदाजस्ता समस्या उत्पन्न गराउँछ। केही प्रतिबन्धित लागुऔषध नेपालबाट भारत जाने गर्छ, केही भारतबाट नेपालमा भित्रने गर्छ। दुर्व्यसनमा फसेका व्यक्तिको साइन कोड प्रयोग गर्छन्। सुई हान्नेलाई ‘ढुस’, ‘पानी खाने’ किन्ने बेला सामान र ‘माल’ दिनु भनेर भन्ने गरिन्छ।
आर्थिक अवस्था कमजोर भएपछि र किन्नको लागि पैसा नभएपछि दुर्व्यसनमा फसेकाहरू आफंै तयार पारेरसमेत खाने गर्छन्। केही अपराधिक क्रियाकलाप गर्न तयार हुन्छन्। दुर्व्यसनमा परेकाहरू सकेसम्म आफ्नो रोजाइँको वस्तु प्रयोग गर्ने प्रयास गर्छन्। नपाएपछि अन्तिम विकल्पको रूपमा मोजा, महिलाले प्रयोग गर्ने प्याड, जुत्ताको पोलिस, फिनाइल, छिप्किलीसम्म मारेर खाने गर्छन्।

बाँके प्रहरीका अनुसार भारतीय सीमाना नजिकै नेपाली गाउँ जयसपुर, जमुनाहा नाका, राधापुर, साइगाउँ, नरैनापुर लागुऔषध भित्रने मुख्य नाकाका रूपमा देखिएका छन्। ती स्थानहरू लागुऔषध खरिद, बिक्रि र सेवनका गर्नेहरूको लागि सहज स्थान हो। नेपालगन्जका केही टोल पनि त्यो सूचीमा पर्छन्। प्रहरीका अनुसार कोहलपुर पनि लागुऔषध प्रयोगकर्ता र बिक्री बढिरहेको सहर हो।

दुर्व्यसनमा परेकाहरू सकेसम्म आफ्नो रोजाइँको वस्तु प्रयोग गर्ने प्रयास गर्छन्। नपाएपछि अन्तिम विकल्पको रूपमा मोजा, महिलाले प्रयोग गर्ने प्याड, जुत्ताको पोलिस, फिनाइल, छिप्किलीसम्म मारेर खाने गर्छन्।

टिक्रा र गणेशपुरमा भारतीय सरकारले वैधानिकरूपमै अफिम खेती गर्न पाउने अनुमति दिएको छ। औषधिका रूपमा प्रयोग गर्नको लागि भारत सरकारले उत्पादन गरेको छ। तर, त्यहीँबाट केही गिरोहले किनेर बिक्री गर्ने गर्छन्। सो गिरोहले नानपारा, बहराइच, रुपैडिहा नेपाली सिमाना नजिक रहेका सहरसम्म पु¥याउने गरेका छन्।

पक्राउ पर्दैनन् मुख्य गिरोह

केही संगठित गिरोहले लागुऔषधको व्यापार गर्छन्। संगठित गिरोह भारत र नेपाल दुवैतर्फ रहेको पूर्व लागुऔषधप्रयोगकर्ता बताउँछन्। तर, उनीहरूसम्म प्रहरी पुग्नै सक्दैन। उनीहरूले विभिन्न व्यक्तिलाई प्रयोग गरेर आफ्नो व्यापारलाई चलाइरहेका हुन्छन्। प्रहरीले पक्राउ गर्ने अधिकांश व्यक्ति प्रयोगकर्ता मात्र हुने गरेको पूर्वलागुऔषध प्रयोगकर्ताको भनाइ छ।

बेइमान धन्दा

बेइमानको धन्दाका रूपमा चिनिन्छ लागुऔषध कारोबार। लागुऔषध दुर्व्यसनीविरुद्ध काम गरिरहेका युवा अभिराज क्षेत्री भन्छन्, ‘लागुऔषध प्रयोग गर्ने र बिक्री गर्ने समूहका लागि अपराध गर्नु सामान्य हो। र, दुर्व्यसनीमा फसेकाले त खान नपाएपछि जे पनि गर्न तयार हुन्छन्। सामान्य घटनामा पनि मानिसको ज्यान लिनसमेत पछि पर्दैनन्।’
बाँके प्रहरीका अनुसार लागुऔषध प्रयोग गर्नेमा तेस्रो लिंगी, यौनकर्मी, यातायायातमा संलग्न कर्मचारी, विद्यार्थी धेरै हुने गरेका छन्। यौन कर्ममा संलग्नहरू सहज महसुस गर्न र सहजरूपमा पैसा कमाउन लागुऔषध प्रयोग गर्ने गर्छन्। पेसा मन परेको हँुदैन। त्यस्तो बेला सहज महसुस गर्नको लागी लागुऔषध प्रयोग गर्ने गर्छन्। सहजै पैसा कमाउनको लागि लागुऔषध साहरा बन्ने गरेको छ। मनले यौन व्यवसायमा लाग्न मानिरहेको हुँदैन। तर पैसा कमाउन त्यही कार्यमा संलग्नु हुनु पर्ने बाध्यताले पनि धेरै जसो लागुऔषधमा फसेको प्रहरी बताउँछ।

किन रोकिँदैन लागुऔषध ओसारपसार ?

२०६९ सालमा नेपाल सरकार र गृह मन्त्रालयले गरेको अनुसन्धानमा बाँकेमा हार्ड ड्रग्स प्रयोगकर्ता चार हजार एक सय रहेको खुलेको थियो। हार्ड ड्रग्समा गाँजा, रक्सी पर्दैन। लागुऔषध सेवन गर्नेको भाषामा हार्ड ड्रग्स लिने व्यक्ति चरम लागुऔषध सेवनको नसामा फसिसकेका हुन्छन्।

हार्ड ड्रग्स लिनेहरूको रोजाइँमा पर्ने गर्छ, कोरेक्स, ब्राउनसुगर, अफिम, सिरिन्ज हान्ने। लागुऔषध सेवन गर्नेहरूका लागि यो अन्तिम चरण पनि हो। यसलाई ‘इन्जेक्टिड’ ड्रग्स प्रयोगकर्ता भनिन्छ।

‘कसैसँग लागुऔषध भेटिएको छ भने त्यसलाई सोझै जेलमा हालिन्छ। यो नीति गलत हो। ऊसँग कति परिमाण भेटिएको छ त्यसैका आधारमा केही निश्चित अवीधसम्म सुधार गृहमा बस्नु पर्ने अनिवार्य गर्नु पर्नेजस्ता कानुन बनाउन आवश्यक छ।’

लागुऔषध नियन्त्रण ब्युरोमै काम गरिरहेका एक प्रहरी अधिकारीअनुसार अनुसन्धानका लागि जनशक्तिनै पर्याप्त छैन। जिल्ला प्रहरी कार्यालय बाँकेसँग लागुऔषध दुर्व्यसनी एकाइ हेर्ने दुईजना प्रहरी छुट्याएको छ। एउटा प्रहरी नायव निरीक्षक र अर्को प्रहरी जवानले जिल्लामा दुर्व्यसनसम्बन्धी इकाइमा काम गरेका हुन्छन्। त्यसै गरी संघीय इकाइ प्रहरी कार्यालयले प्रहरी निरीक्षकको नेतृत्वमा लागुऔषध नियन्त्रणमा काम गरिरहेको छ। पर्याप्त जनशक्तिको अभावले प्रहरीले खुला सिमाना रहेको बाँकेमा दुर्व्यसनको बारेमा राम्ररी अनुसन्धान गर्न नसकेको प्रहरी अधिकारी बताउँछन्।

लागुऔषध नियन्त्रणमा काम गरिरहेको प्रहरी अनुसन्धान पनि फितलो भएको बताउँछन्, सहारा हाउसका अध्यक्ष अभिराज क्षेत्री। उनले भने, ‘लागुऔषधसहित पक्राउ परेकालाई प्रहरीले सोझै अपराधी सरह व्यवहार गर्छ। सुरुमा ऊ प्रयोगकर्ता हो कि बिक्रीकर्ता हो, त्यो छुट्याउन जरुरी छ। प्रयोगकर्तालाई हामीले सामाजिक सहयोगबाट पुनस्र्थापना गर्न सकिन्छ। बिक्री गर्नेलाई कडा सजाय हुनुपर्छ।’

क्षेत्रीका अनुसार कानुन कार्यान्वयन एकाइ र अदालतबीच पनि केही अन्तर छ। ‘कसैसँग लागुऔषध भेटिएको छ भने त्यसलाई सोझै जेलमा हालिन्छ। यो नीति गलत हो। उसँग कति परिमाण भेटिएको छ त्यसैका आधारमा केही निश्चित अवीधसम्म सुधार गृहमा बस्नुपर्ने अनिवार्य गर्नुपर्नेजस्ता कानुन बनाउन आवश्यक छ,’ उनले भने। तर, नेपालमा कतिपय गिरोह पक्राउ परे पनि राजनीति दबाब, आर्थिक शक्तिको आडमा प्रयोगकर्तारूपमा कम सजाय काटेर सहजै उम्कन्छन्। सुधार गृहमा पठाउनुपर्ने युवालाई प्रहरीले सुराकीको रूपमा प्रयोग गरिरहेका कारण समस्या समाधानमा अप्ठ्यारो परेको क्षेत्रीको बुझाइ छ।

‘हामीले लागुऔषध नियन्त्रणका लागि सतहमा मात्र काम गरिरहेको छौं। गहिराइमा गएर समाधान गर्ने सकैले चासो देखाएको छैन। लागुऔषध नियन्त्रण गर्न त्यसको डिलरसम्म पुग्न सक्नुपर्छ प्रहरी। तर, हामी खुद्रा व्यापारीलाई पक्राउ गरेर लागुऔषध नियन्त्रण गर्न खोजिरहेको छौं,’ उनले भने, ‘अर्को कुरा पक्रनुलाई मात्र हामीले उपलब्धि मान्नु हँुदैन। उनीहरूलाई कसरी सुधारको बाटोमा लग्ने भन्ने महत्वपूर्ण कुरा हो।’

प्रहरीले लागुऔषध दुर्व्यसनी रोकथामका लागि स्थानीयस्तरमा समुदायसँग मिलेर काम गर्ने गरेको छ। तर, त्यो अभियान प्रभावकारी देखिँदैन। बाँकेमा केही गैरसरकारी संस्थाले लागुऔषध दुर्व्यसनमा फसेकाहरूलाई पुनस्र्थापना गर्न काम गरिरहेका छन्। बाँकेमा नवीकरण, प्रेरणा, सामना र सहारा हाउसलगायतका संस्थाले यस क्षेत्रमा काम गरिरहेका छन्।

दुर्व्यसनमा फसेका मानिसलाई मानसिक र सामाजिकरूपमा रूपान्तरणका लागि काउन्सिलिङ, सामाजिक उत्तरदायित्वबोध गराउने वातावरण, सहयोग र स्नेहको आवश्यकता पर्ने सहारा हाउसका अध्यक्ष क्षेत्री बताउँछन्।

दुर्व्यसनमा फसेकाहरूलाई सामाजिकरूपमा बेवास्ता गर्दा पुनस्र्थापनामा चुनौती थपिइरहेको उनको भनाइ छ। ‘दुर्व्यसनमा फसेकाहरूलाई घरपरिवार, साथीभाइ, छिमेक र समाजले बेवास्ता गर्छ,’ उनले भने, ‘उनीहरूलाई सही बाटोमा ल्याउनु पनि मानवीय धर्म हो भनेर हामीले जिम्मेवारीबोध गर्नुपर्छ।’

प्रकाशित: १२ श्रावण २०७६ ०७:२६ आइतबार

लागुऔषध दुर्व्यसन