समाज

विस्थापनको पीडा कम नहुँदै अर्को बाढीको त्रास

गौर नगरपालिका–६ सपगढामा पर्ने कजवेमाथिबाट बाढीको पानी उच्च बहावमा बग्न थालेपछि सुरक्षाकर्मीको सहयोगमा गन्तव्य स्थानतर्फ पु¥याइँदै।

रौतहट - जारी अविरल वर्षाका कारण विभिन्न नदी र खोलामा आएको बाढीले रौतहटका कयौं गाउँ फेरि डुबानमा परेका छन्। असार अन्तिम साता बाग्मती र लाल बकैया नदीका साथै विभिन्न खोलामा आएको विनाशकारी बाढीले विस्थापित बनेकाहरूको जनजीवन सहज हुँदै गर्दा पुनः आएको बाढीले थप बिचल्ली बनाएको छ। मध्य पहाडी तथा चुरे क्षेत्रमा जारी रहेको वर्षासँगै रौतहटको बाग्मती, लालबकैया, झाझ, चाँदी, अरुवा, झिम, भकुवालगायत सहायक नदीमा आएको बाढीले स्थानीय त्रसित बनेका छन्। जिल्लाको पूर्वी भेगमा बग्ने बाग्मती नदीमा बाढीको पानीको बहाव केही कम भए पनि लालबकैया नदीमा पानीको बहाव तीव्र रहेको छ। असार २८ मा आएको बाग्मती र लाल बकैया नदीका विभिन्न ११ स्थानमा तटबन्ध फुटेर बाढीको पानी बस्तीमा प्रवेश गर्दा ठूलो जनधनको क्षति भएको थियो।

बाढीले भत्काएका तटबन्ध मर्मत हुन नपाउँदै दोस्रो पटक आएको बाढीले फुटेकै ठाउँ भएर नदीको पानी बिहीबारदेखि सदरमुकाम गौरसहित दर्जनभन्दा बढी बस्ती वरपर जम्मा हुने क्रम जारी रहेकोले स्थानीय बासिन्दामा बाढीको त्रास सिर्जना भएको छ। लाल बकैया नदीमा आएको बाढीले ईशनाथ नगरपालिकाको बन्जरहा गाउँ पुनः डुबानमा परेको छ। गौर नगरपालिका–६ स्थित सपगढा लच्का (कजवे) हुँदै बाढीको पानी सदरमुकाम वरिपरि पसेर खेतीयोग्य जमिनमा लगाइएको बालीनालीसमेत जलमग्न भएको छ। गौर चन्द्रनिगाहपुर सडकखण्डअन्र्तगत सपगढास्थित कजवेमा पानीको बहाव निकै तीव्र भएपछि साना सवारीसाधनहरूको आवागमनसमेत रोकिएको छ। सो स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयलाई डोरीको सहाराले गन्तव्यतर्फ जान सघाइरहेका छन्।

सदरमुकाम गौर नगरपालिकासहित दुई दर्जनभन्दा बढी गाउँमा बाढीको पानी पस्ने क्रम जारी। सपगढा कजवेमा डोरीको सहाराले आवातजावत।

बकैयाको बाढीले गौर नगरपालिकाको २ नम्बर वडाको महादेवपट्टी र भन्सार क्षेत्रमा पनि बाढीको पानी प्रवेश गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले बताए। भारतीय पक्षले दसगजामै तटबन्ध बनाएपछि पानीको निकास नहुँदा बाढीको पानी थुनिएर सदरमुकाम गौर डुबान हुँदै आएको छ। बिहीबार बाढीको पानी सदरमुकाममा जम्मा हुन थालेपछि भारतीय पक्षले पानी निकासका लागि तटबन्धमा बनाइएको साइफनको पानी खोलेपछि बाढीको पानी भारततर्फ निकास भइरहेको छ। रौतहटका बन्जरहा, फतुवामहेशपुर, राजपुर, जिंगडवा, सदरमुकाम गौर नगरपालिकाको सिसिंया, पुरेनवा, सपगढा, सिसवा, टिकुलिया, दुर्गा भगवतीको बडहर्वा, पचरुखी, मत्सरी, गंगापिपरा र भलोहिया गाउँमा बाढीको पानी पस्ने क्रम जारी छ।

बाढीको पानीले अन्य बस्तीहरू पनि डुबानमा पर्ने खतरा बढेको छ। लाल बकैया नदीमा आएको बाढीले भत्काएको तटबन्ध भएर बस्तीतर्फ पानी प्रवेश गर्न थालेपछि सदरमुकाम गौरदेखि राजपुर, इशनाथ, परोहा, बौधीमाई गरी चार नगरपालिका जोडने बाटो अवरुद्ध भएको छ। बाग्मती नदीमा आएको बाढीको पानी गढो र लक्ष्मीपुरमा भत्किएको तटबन्धबाट पानी पसेको खबर प्राप्त भए पनि बाग्मती नदीमा जलस्तर कम रहेको हुँदा नआत्तिन प्रमुख जिल्ला अधिकारी किरण थापाले आग्रह गरेका छन्। माथि पानी प¥यो भने बाग्मती नदीमा ठूलो बाढी आउन सक्ने सम्भावना भएकाले सदरमुकाम गौर बाढीको उच्च जोखिममा रहेको छ। फेरि ठूलो बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको प्रजिअ थापाले बताए।

केही दिनअघिको बाढीबाट ठूलो क्षति बेहोरेका व्यापारीहरूले आफ्ना सामानहरू सुरक्षित स्थानतर्फ सार्न थालेको उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पण्डित जयसवालले बताए। जयसवालका अनुसार गौरका व्यापारीहरूमा असार २७ र २८ को बाढीबाट ठूलो क्षति बेहोर्नुपरेको पीडा त छँदै छ, त्यसमा पुनः बाढी आउने त्रास थपिएसँगै स्थानीय व्यापारीहरू निकै हतोत्साही छन्। बाढीको समस्या दीर्घकालीन रूपमा समाधान भएन भने व्यापारीहरू गौरबाट पलायन हुने मनस्थितिमा समेत पुगेको उनको भनाइ छ। बाढीको पानी कुनै पनि बेला आउन सक्ने हल्ला फिँजिएसँगै अधिकतर गौरबासीको रात अनिदो हुन थालेको छ।

प्रकाशित: १२ श्रावण २०७६ ०१:४० आइतबार

अविरल वर्षा विस्थापन बाढी