समाज

विप्लवका दुई कार्यकर्ता पक्राउ

सुर्खेत– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा संगठनका जाजरकोट अध्यक्ष खड्कबहादुर सिंहलाई शुक्रबार वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा फरार फरार रहेका उनलाई वीरेन्द्रनगर–१० पदमपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार जाजरकोटका नरेशकुमार शाहीलाई अपहरण गरेको आरोप उनीमाथि छ। शाहीको जाहेरीका आधारमा जिल्ला अदालत जाजरकोटले पक्राउ पूर्जी जारी गरेको थियो। ‘अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तसमेत रहेका सिंह वीरेन्द्रनगरमा रहेको आशंकामा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पदमपुरबाट पक्राउ गरेको हो’, जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीपकुमार क्षेत्रीले भने, ‘पक्राउ परेका अभियुक्तलाई जाजरकोट पठाएका छौं।’

यस्तै जिल्ला सदस्य लेकवेशी नगरपालिका–५ नेटाका ४४ वर्षीय हिरु शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लेकवेशीका प्रहरी निरीक्षक जितेन्द्रकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको डिएसपी क्षेत्रीले जानकारी दिए।

प्रकाशित: १० श्रावण २०७६ १५:४५ शुक्रबार

विप्लव_समूह कार्यकर्ता पक्राउ जाजरकोट