समाज

३ वर्षअघि हत्या गरी फरार अभियुक्त पक्राउ

३ वर्षअघि फरार हत्याको अभियुक्त कार्की। तस्विरः महेश्वर

उदयपुर– आफ्नै साथीको हत्या गरेर भागेको ३ वर्षपछि उदयपुरका एक फरार अभियुक्त पक्राउ परेका छन्। सामान्य विवादमै आफ्नै साथी त्रियुगा नगरपालिका ५ श्रीपुरका ३५ वर्षीय मोहन बुढाथोकीको हत्या गरी फरार रहेका होमबहादुर कार्की भर्खरै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

 प्रहरीका अनुसार कार्कीले ०७३ मंसिर २४ गते बुढाथोकीलाई बन्चरो प्रहार गरी सख्त घाइते बनाएका थिए। घाइते बुढाथोकीको उपचारको क्रममा मंसिर ३० गते विराटनगरस्थित एक अस्पतालमा मृत्यु भएको थियो। बुढाथोकीको हत्या गरेलगत्तै भागेका कार्की सम्पर्कमा नआएपछि नेपाल सरकार बादी भएर उनको खोजी कार्य जारी रहेको थियो।

उनी वैदेशिक रोजगारीमा मलेसिया गएको खुलेपछि सरकारले ०७५ पुस २ गते रेडकर्नर नोटिस जारी गरेर उनको खोजी कार्यलाई अन्तराष्ट्रियकरण गरेको थियो। आफुविरुद्ध रेडकर्नर नोटिस जारी भएको जानकारी पाएलगत्तै नेपाल फर्केका उनी राजधानीमै लुकिछिपी बसेको खवर पाएपछि खटेको टोलीले काठमाडौंबाट घर आउँदैगर्दा बाटैमा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्।

काठमाडौंमा पनि खोजी हुन थालेपछि घर आउँदै गरेका कार्कीलाई उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरीले बसबाटै पक्राउ गरेको जनाइएको छ। ‘३ वर्षअघि हत्याको वारदात गरेर भाग्न सफल अभियुक्त विदेश गएको सूचना पाएपछि रेडकर्नर नोटिस जारी गरेर खोजिरहेका थियौं’ एसपी मगरले भने ‘विदेशमा पनि खोजी हुन थालेको चाल पाएर नेपाल फर्केर काठमाडौंमा लुकेर बसेको भन्ने खवर पाएपछि टोली खटाउँदा भागेर घर आउँदै गर्दा पक्राउ गर्न सफल भयौं।’

विना कारण छोराको हत्या गरेकोमा विछिप्त बनेका जगतबहादुर बुढाथोकीले कर्तव्य ज्यान मुद्धामा कार्कीविरुद्ध प्रहरीका त्यतिबेलै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ। ३३ वर्षीय कार्की र बुढाथोकी साथी–साथी भएको र घटनाका दिन सामान्य भनाभन हुँदाहुँदै बन्चरो प्रहार गर्दा बुढाथोकी गम्भीर घाइते भएका थिए।

प्रकाशित: १० श्रावण २०७६ १४:१५ शुक्रबार

हत्या अभियुक्त पक्राउ