समाज

कालाजार सार्ने भुसुना नियन्त्रण अभियान

ओखलढुंगा - कालाजार रोग नियन्त्रणका लागि ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा रोग सार्ने भुसुना नियन्त्रण अभियान थालिएको छ। गाउँपालिका–२ बाक्सामा सो अभियान थालिएको हो। गत वर्ष बाक्सामा एकजना कालाजारका बिरामी फेला परेका थिए। साविक वडा नम्बर ९ कार्कीबेंसीकी १७ वर्षीय सिर्जना कार्कीमा कालाजारको लक्षण देखिएको वडाध्यक्ष उमेश कार्कीले बताए। कालाजारका रोगी फेला परेपछि वडाको तल्लो भेगका कार्कीबेंसी, ल्याबा, लाफे, सालघारी, भँगेरी चउर, सिन्जु, कोकसेपु, लंकालगायत क्षेत्रमा भुसुना मार्ने औषधि छर्न थालिएको वडाध्यक्ष कार्कीले जानकारी दिए। यी गाउँ दूधकोसी नजिकमा पर्दछन्।

बाक्साका चारजनालाई औषधि छिट्ने टोली तयार गरी तालिम दिएर काममा लगाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयबाट भुसुना मार्ने औषधि र उपकरण उपलब्ध भएपछि औषधि छर्किने काम थालिएको गाउँपालिका स्वास्थ्य संयोजक विश्वराज दाहालले जनाएका छन्। स्थानीयको घर, चर्पी, गोठ, खोर तथा भुसुना हुनसक्ने स्थानमा टोलीले भुसुना मार्ने औषधि छिट्नेछन्।

पोथी भुसुनाले बिरामीलाई टोकेर निरोगी व्यक्तिलाई टोकेमा कालाजार सर्ने विशेषज्ञको भनाइ छ। कालाजार रोग लागेका बिरामीमा दुई साताभन्दा लामो समय ज्वरो आउने, पेटको बायाँ भाग फुल्ने, संक्रमित भई छाती दुख्ने, जिउ गल्ने, कमजोर हुँदै जाने र शरीर कालो हुने लक्षण देखिन्छ। यसअघि यसै गाउँपालिकाको उबुँ र हिलेपानीको सोक्माटारमा भुसुना नियन्त्रणका लागि अभियान चलाइएको थियो। अन्य वडामा पनि आगामी दिनमा अभियान चलाइने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १० श्रावण २०७६ ०२:२१ शुक्रबार

कालाजार रोग_नियन्त्रण भुसुना