समाज

चिनिया सहयोगको महात्वाकांक्षी रेल परियोजना मलेसियामा पुनः सुरु

क्वालालम्पुर – चीनको आर्थिक तथा प्राविधिक सहयोगमा मलेसियामा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः सुरु भएको छ। मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने बताउँदै छ सय ४० किलोमिटर लामो यो रेल परियोजना स्थगित गरका थिए।

रेल निर्माणमा केही प्राविधिक फेरबदल र लागत कटौती गरेसँगै करिब १० अर्ब डलरको उक्त परियोजना बिहीबारदेखि विधिवत रुपमा सुरु भएको हो। यो रेलमार्गले थाइल्यान्डसँगको सीमा नजिकको उत्तरपूर्वी मलेसियालाई पश्चिमको प्रमुख बन्दरगाह सहर मलक्कालाई जोड्नेछ।

मलेसियाका यातायात मन्त्री एन्थोनी लोकले रेल निर्माणको शिलान्यास गर्दै यस परियोजनाले मलेसियाको पूर्वीक्षेत्रका ग्रामीण इलाकाको सार्वजनिक यातायातमा व्यापक सुधार ल्याउने विश्वास व्यक्त गरे।

चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड (बिआरआई) परियोजनाकै एक भागका रुपमा लिइएको यस परियोजनालाई मलेसियाको वर्तमान सरकारले रोकेको थियो। मलेसियाको पूर्ववर्ती सरकारसँग भएका यस्तै परियोजनालाई मलेसिया सरकारले कार्यान्वयनमा ल्याएको छैन।

चिनियाँ लगानीका सबैजसो परियोजनामा पारदर्शिताको कमी रहेको आलोचकहरुको भनाइ छ। मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि चिनियाँ सहयोगका परियोजनाहरु स्वीकृत गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ।

इस्ट कोस्ट रेलसेवा पुनर्निर्माण आरम्भ गर्ने बारेमा मलेसिया र चीन सरकारबीच लामो समयदेखि छलफल जारी थियो। गत अप्रिलमा लागत घटाउने र रेलसेवाको दूरीलाई पनि समायोजन गर्ने सहमति भएपछि रेल निर्माणको कार्य अघि बढेको हो। दुई देशबीच भएको नयाँ समहति अनुसार रेल निर्माण कार्य सन् २०२६ सम्ममा पूरा हुनेछ। मलेसियाको पूर्वी तटीय क्षेत्र अन्य इलाकाभन्दा पिछडिएको क्षेत्र हो।

रेल निर्माण परियोजनाको निर्माणकार्य सन् २०१७ मा प्रारम्भ भएको थियो। मलेसिया सरकारको अनुरोधमा गत वर्ष जुलाईदेखि उक्त परियोजना पूर्ण रुपमा बन्द गरिएको थियो। मन्त्री लोकले परियोजनाको झन्डै ८५ प्रतिशत लागत चीनको एक्सपोर्ट–इम्पोर्ट बैंकले लगानी गर्ने जानकारी सञ्चार माध्यमहरुलाई गराएका छन्।
चीनको बिआरआई अभियानमा एसिया, अफ्रिका र युरोपका सामुद्रिक, रेल र सडक परियोजना समेटिएका छन्।

प्रकाशित: १० श्रावण २०७६ ०१:२० शुक्रबार

परियोजना भ्रष्टाचार पुनर्निर्माण