समाज

सुन तस्करको नयाँ ट्रान्जिटः तिब्बत हुँदै गोरखा

प्रहरीले बिहीवार नियन्त्रणमा लिएको १६ किलो सुन र सुन लुकाउने धनकमल । तस्विर : नागरिक

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ माछाखोला स्थित ओढारमा लुकाएर राखेको अवस्थामा १६ किलो सुन प्रहरीले बिहिवार  बरामद गरेको छ। धार्चे १ यारुबगरका ४० वर्षिय धनकमल गुरुङले छेकम्पारबाट ल्याएको उक्त सुन ओढारमा बोराभित्र सलमा पोको पारेर खाल्डोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो। बरामद भएको उक्त सुनको बजार मूल्य आठ करोड ८१ लाख रहेको छ। 

‘धनकमल गुरुङ असार ११ गतेदेखि हराईरहेको सुचना थियो’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले भने ‘बिहीबार धनकमललाई धार्चे गाउँपालिका ३ मा हिडिरहेको भेटेपछि सोधखोज गर्दा सुन लुकाएर राखेको ठाउँ देखाएका हुन्।’ उनले प्रहरी सामु आफु अपहरणमा परेको नाटक गरेर फरार भएका थिए। उक्त सुन असार ११ गते धनकमलले उत्तरी गोरखाको छेकम्पारबाट खच्चढलाई बोरामा बोकाएर ल्याएको प्रहरीले जनाएको छ। लुटेराहरुको एक समूहले सुन लुट्ने प्रयास गरेपछि धनकमलले ओढारमा लुकाएर आफैँ फरार भएका थिए। धनकमलसँग सुन लुट्न लागेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो। बरामद सुन शुक्रवार राजस्व अनुसन्धान कार्यालय काठमाडौं पठाउने एसपी अधिकारीले बताए। धनकमलको खोजीका लागि प्रहरी एक महिना देखि लागिरहेको थियो। उनले सुन ल्याएको हुन सक्ने आशंका पहिलेदेखि रहेको प्रहरीले जनाएको छ। 

तिब्बतबाट गोरखाको छेकम्पार र सामागाउँ नाका हुँदै सुन तस्कारी बढेको छ। प्रहरीले बिहीबार १६ किलो सुन सहित स्थानीय खच्चढ ब्यवसायी धनकमल गुरुङलाई पक्राउ गरेपछि ठूलो परिणाममा तस्करहरुले सुन भित्र्याउन उत्तरी गोरखाको नाका प्रयोग गर्ने गरेको प्रहरी अनुमान पुष्टि हुँदै गएको छ। 

२०७५ साउन २३ गते सिर्दिबाट प्रहरी चौकीबाट खटिएको टोलीले सदरमुकाम तर्फ झर्दै गरेका तिब्बती सिमानाका दुई जना नेपाली नागरिकबाट १० किलो सुन बरामद गरेको थियो। छेकम्पारको ङुईला नाका हुँदै उत्तरी गोरखाबाट नेपाल भित्रिएको उक्त १० किलो सुन छेकम्पारका छिरिङ ङुईटुप लामा र लोप्साङ तेन्जे लामाले काठमाण्डौँ लैजान लागेका थिए। कम्मरमा ‘पेटी’ जतो आकारको कपडामा बेरेर उनीहरुले सुन ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो। तिब्बत गएका बेला चिनियाँ नागरिकले काठमाण्डौँ सम्म सुन पु¥याईदिए ५० हजार दिने बताएपछि उनीहरु सुन बोकेर आएका थिए। पक्राउ परेका दुबै जना छेकम्पारका स्थानीय हुन्। समान्य परिवारका उनीहरु राजस्व अनुसन्धान बिभागले १५ करोड धरौटी मागेपछि कारागार चलान भएका छन्। अहिले गोरखा कारागारका रहेका दुबैले धरौटी रकम तिर्न सक्ने अवस्था छैन। सुन बोकाउने तिब्बती नागरिक उनीहरुले नचिन्ने बताउँछन्। जिल्ला अदालत गोरखाबाट भने उक्त मुद्दाको फैसला हुन बाँकी छ।

१० किलो सुन समातिएको वर्षदिन नपुग्दै १६ किलो सुन छेकम्पारको ङुईला नाकाबाट भित्रिएको हो। तिब्बतबाट गोरखा भित्रने सामागाउँ र छेकम्पारको दुईवटा नाका छ। दुबै नाकामा सुरक्षाकर्मी छैनन्। सुरक्षाकर्मी नहुँदा चोरी निकासी बढेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङ बताउँछन्। ‘पहिले पनि जडिबुटी चोरी निकासी हुन्थ्यो, अहिले सुन हुन थाल्यो’ चेकजाँच कडा नहुँदा सुन तस्करीको ट्रान्जिट उत्तरी गोरखा बन्न थाल्यो।’ अन्यत्र जिल्लाको तिब्बतसँग जोडिएको नाकामा कडाई हुन थालेपछि सुरक्षा पोष्ट नै नभएको उत्तरी गोरखाको नाका तस्करहरुले प्रयोग गर्न थालेका हुन्। 

जिल्ला प्रशासन कार्यालय गोरखाले यस अघि पटक—पटक उत्तरी गोरखाको तिब्बत नाकामा सुरक्षापोष्ट राख्न गृहमन्त्रालय सँग अनुमती मागेको थियो। तर मन्त्रालयले शसस्त्र प्रहरी राख्ने अनुमति दिएको छैन। ‘छिट्टै सुरक्षाकर्मी तिब्बती नाकामा राख्ने योजना छ’ गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने। संवेदनशील क्षेत्र भएको, भौगोलिक रुपमा दुर्गम रहेकाले सुरक्षा ब्यवस्थामा समेत चुनौती हुने गरेको उनले बताए।

तिब्बतबाट उत्तरी गोरखा हुँदै आयात र निर्यात हुने सामग्री चेकजाँच गर्ने कुनै संयन्त्र अहिले छैन। लार्के भन्सार कार्यालय द्वन्द्वको समयदेखि बन्द हुँदा उत्तरी भेगमा निर्वाद रुपमा जडिवुटी तिब्बत ढुवानी र तिब्बतबाट दैनिक उपभोग्य सामग्री देखि सुनसम्म तस्करी हुने गरेको छ। 

प्रकाशित: ९ श्रावण २०७६ १५:४० बिहीबार

सुन तस्करी ट्रान्जिट तिब्बत गोरखा