समाज

धर्म परिवर्तन गराउँदै हिँड्ने विदेशी नागरिक पक्राउ

पोखरा – पर्यटकको नाममा पोखरा भित्रिएका विभिन्न मुलुकका विदेशी नागरिकले यहाँ धर्म प्रचार गरेको पाइएको छ। धर्म प्रचार गर्ने र अरूलाई धर्म परिवर्तन गर्न बाध्य पारेको आरोपमा कास्की प्रहरीले जापान र कोरियाका तीनजना पर्यटकलाई पक्राउ गरेको हो। क्रिस्चियन धर्मसँग सम्बन्धित पर्चा पम्प्लेट र बाइबल वितरण गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पोखराको लेकसाइड र रत्नचोकबाट पक्राउ गरेको हो।

कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार पक्राउ पर्नेमा जापानी नागरिक जिरो सेकिया र रेइको सेकिया रहेका छन्। ती पर्यटकलाई पोखरा महानगरपालिका–७ रत्नचोकबाट प्रहरीले पक्रेको थियो। त्यस्तै धर्म परिवर्तन गराएको भन्दै पोखरा–६ वाराहीचोकबाट कोरियन पर्यटक छो योसाङ पनि पक्राउ परेका छन्।

पर्यटकको रूपमा उनीहरूलाई बुझेपछि भित्री उद्देश्य धर्म परिवर्तन गराउने रहेको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी केसीले बताए। ‘हामी विदेशी पाहुनालाई सम्मान गर्छाैं,’ उनले भने, ‘तर ती विदेशीको भित्री रूप के हुन्छ भन्ने वास्ता गर्दैनौं। सबै विदेशी पर्यटक हुँदैनन् भन्ने यो घटनाले पुष्टि गरेको छ।’ डिएसपी केसीका अनुसार ती सबै विदेशी नियमअनुसार नै पर्यटकको रूपमा नेपाल भित्रिएका थिए।

 

प्रकाशित: ९ श्रावण २०७६ ०२:४२ बिहीबार

धर्म_परिवर्तन पक्राउ विदेशी