समाज

छुटाछुट्टै घटनामा तीन जनाको मृत्यु

सिरहा– मंगलबार सिरहामा छुटाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। तीन घटनामा तीन जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो खेतमा कोदालोले खेत सम्याइरहेका अर्नामा गाउँपालिका–३ का २२ वर्षीया बिजुली महराको चट्याङ लागेर मृत्यु भएको छ। 

चट्याङ लागेरै भगवानपुर गाउँपालिका–२ की ४० वर्षीया नग्मा खातुन र नवराजपुर गाउँपालिका–१ करमनियाँका ७० वर्षीय रामविलाश ठाकुर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए। चट्याङ लाग्दा नग्मा घरमै काम गरिरहेकी थिइन् भने रामविलाश खेतमा काम गरिरहेका थिए। नग्माको भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने रामविलाशको  लहान अस्पतलमा उपचार भइरहेको छ।

वर्षाको पानीमा भिजेको टाली खपराको घरको भित्ता भत्किँदा मंगलबार एकैपरिवारका एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। धनगढीमाई नगरपालिका–२ धनगढा की ५५ वर्षीया कुशमा खातुनको मृत्यु भएको छ। खातुन परिवारका सदस्यहरु, ७२ वर्षीय रहिमान मियाँ उनकी श्रीमती ६५ वर्षीया जनकी खातुन र पाहुना आएका २० वर्षीय सुभाष गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घाइतेहरुको धनगढीमाई नगरपालिका स्थित श्रमजीवी अस्पतालमा उपचार भैरहेको छ।

यसैगरी, सिरहा नगरपालिका–२ का ५२ वर्षीय विन्देश्वर महासेठको करेन्ट लागेर मृत्यु भएको छ। पानी तान्ने मोटर मोटर बन्द गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।  उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रकाशित: ७ श्रावण २०७६ १५:३४ मंगलबार

सिरहा मृत्यु तीन_जना