समाज

प्रहरीलाई चिनियाँ भाषा पढाइँदै (फोटो फिचर)

काठमाडौं– नेपाल प्रहरीका कर्मचारीलाई चिनियाँ भाषा पढाउन थालिएको छ। सरकारको ‘पर्यटन वर्ष २०२०’ लाई सफल बनाउन प्रहरी कर्मचारीलाई चिनियाँ भाषा पढाइएको हो। 

यसको सुरुवात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीबाट गरिएको छ। विमानस्थलमा कार्यरत प्रहरीलाई सोमबार र मंगलबार चिनियाँका साथै फ्रेन्च भाषासमेत पढाइएको छ। 

विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीको उपस्थितीमा विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी, पर्यटक प्रहरी लगायत प्रहरी कर्मचारीलाई युनियन हलमा दुइ दिने भाषा कक्षा दिइएको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरण प्राविधिक शाखाका चिनियाँ भाषा विशेषज्ञ विष्णु कुमार थापा, चाइनिज नेपाली ट्रेडिसनल चाइनिज मेडिसिन हस्पिटलका डा. प्रज्वल सापकोटा र सृजना रिमाल, सुरक्षा सेवा (फ्रेन्च भाषा) निर्देशनालयका प्रहरी नायव निरीक्षक प्रकाश शाक्य, फ्रेन्च भाषा प्रशिक्षक प्रवीण राना र विमानस्थल पर्यटक प्रहरीका नायव निरीक्षक चित्रकला थापाले ४ सय प्रहरी कर्मचारीलाई प्रशिक्षण दिएका थिए। 

प्रहरी कर्मचारीहरुमा चाइनिज तथा फ्रेन्च भाषाको ज्ञान भई यात्रुलाई परेको समस्यालाई सजिलै समाधान तथा सभ्य, शिष्ट र नम्र व्यवहार गरी यात्रुमैत्री सेवा बनाई स्मार्ट प्रहरी छवि बनाउने र पर्यटन वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भाषा पढाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

नेपाल_प्रहरी चिनियाँ_भाषा पर्यटन_वर्ष_२०२०