समाज

सर्लाहीमा बाढी र डुबानको कहर (फोटो फिचर)

सर्लाही– गत असार २५ गतेदेखि केही दिन परेको अविरल वर्षाका कारण तराई मधेशमा बाढी र डुबानले एकसाता सम्म अस्तव्यस्त बनायो। हजारौं घर डुबानमा परे। दर्जनौंको मृत्यु भयो भने हजारौं सर्वसाधारण विस्थापित भए। केही दिनयता क्रमश जिल्लामा जनजीवन सामान्य बन्दै गएको छ। सर्लाहीको पनि डुबान भएका विभिन्न स्थानमा जनजीवन सामान्य बन्दै गएको छ।

तर जिल्लाको दक्षिणी क्षेत्रस्थित कौडेना गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा पुगेको क्षतिबाट भने स्थानीयले अझै पनि निकै कष्ट झेलिरहेका छन्। बलरा, धनकौल, विष्णु, रामनगर, गोडैता लगायत गाउँपालिकाका हजारौं सर्वसाधारण सदरमुकाम मलंगवा दैनिक ओहोर दोहोर हुने मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्ग जताततै क्षतविक्षत हुँदा सर्वसाधारणले सास्ती झेलिरहनु परिरहेको छ। विद्युत पोल ढलेर एकातिर तारहरु अर्कोतिर छरपष्ट छन्। उक्त क्षेत्रमा डेढ सातादेखि विद्युत सुचारु नहुँदा अन्धकार जीवन जिउन बाध्य भएका छन्। 

सडक अवरुद्ध हुँदा १ घण्टाको यात्रा मोटरसाइकलमा नै झण्डै ३ घण्टा लाग्ने गरेका कारण सर्वसाधारण आजिज छन्। चारचक्के सवारी साधन त चल्नै सकेको छैन। जसले गर्दा मोटरसाइकल नहुने सयौं सर्वसाधारण पैदलै यात्रा गर्न बाध्य छन्। जताततै पानी नै पानीले भरिभराउ छ। राजमार्ग बगाएर लखन्देही खोलाको भेल डिहेका कारण केही दिनसम्म डुंगामा पैसा तिरेर सर्वसाधारणले आफू मात्र हैन साइकल र मोटरसाइकल जस्ता सवारी साधन समेत पार गराउन बाध्य थिए। सोमबार दिउँसोबाट भने कौडेना गाउँपालिका कार्यालयले राजमार्ग बगाएको ३ ठाउँमा अस्थायी ढंगको बाँसको पुल निर्माण गरिदिएपछि भने केही सहज महसुस गरे पनि अन्यत्र भएका ठूला ठूला खाडल र हिलोका कारण सकस भने उतिकै कायमै छ। खेत खेतबाट मोटरसाइकल चलाएर सर्वसाधारण यात्रा गर्न बाध्य छन्। सोमबार दिउँसो कौडेना गाउँपालिका अन्तर्गत हुलाकी राजमार्ग आसपासमा जे देखियो।

सर्लाही बाढी_र_डुबान कहर