समाज

काठमाडाैँ जिल्ला अदालतमा मुद्दाको चाप

काठमाडौं – नयाँ मुलुकी ऐन लागु भएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दाको चाप ह्वात्तै बढेको छ। अदालतमा नयाँ मुद्दा, जिम्मेवारी सरेका र विवाह दर्तागरी कुल मुद्दाको संख्या २३ हजार ६ सय ६८ पुगेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। त्यसमध्ये यस आर्थिक वर्षमा १३ हजार एक सय ३१ थान अर्थात् करिब ५७ प्रतिशत मुद्दा छिनोफानो भइसकेको र १० हजार ५ सय ३७ थान मुद्दा विचाराधीन अवस्थामा रहेको श्रेस्तेदार श्रेष्ठको भनाइ छ।

‘अदालतमा जिम्मेवारी सरेका ९ हजार २ थान मुद्दा विचाराधीन अवस्थामा थिए। १३ हजार १ सय ३१ थान नयाँ मुद्दा जिल्ला अदालतमा दर्ता भएका थिए। नयाँ मुलुकी संहिताले रिटको क्षेत्राधिकार विस्तार गरेको र थप केही कसुरमा समेत मुद्दा दायर हुने अधिकार दिएकाले यो वर्ष मुद्दाको संख्या गत वर्षभन्दा वृद्धि भएको छ।’ श्रेस्तेदार क्षेष्ठले भने काठमाडौं जिल्ला अदालतमा २९ जना न्यायाधीश कार्यरत रहेको बताउँदै श्रेष्ठले आर्थिक वर्ष २०७४÷२०७५ मा पाँच सयभन्दा बढी मुद्दाको फैसला गर्नेमा तीनजना न्यायाधीश रहेको जनाए।

पहिलोमा न्यायाधीश रमेशराज पोखरेलले ५ सय ९६ थान मुद्दा फैसला गरेका छन् भने दोस्रोमा न्यायाधीश अशोककुमार बस्नेत बस्नेतले ५ सय ११ मुद्दा फैसला गरेका छन्। न्यायाधीश श्रीकृष्ण भट्टराईले ५ सय १ थान मुद्दाको फैसला गरेको श्रेष्ठले बताए।

प्रकाशित: ६ श्रावण २०७६ ०२:०२ सोमबार

मुलुकी_ऐन