समाज

स्थानीय सरकारको निर्णयविरुद्ध जनता ओर्लिएपछि ठेक्का रद्ध

रौतहट– रौतहटको एक स्थानीय तहले मनपरी तरिकाले बागमती नदीबाट बालुवा, गिटी र ग्राभल झिक्नको लागि बर्षायाममा नै टेण्डर गर्न थालेपछि स्थानीय विरोधमा उत्रेका छन्। 

रौतहटको गढीमाइ नगरपालिकाले बागमती नदीको विभिन्न नाकाबाट बालुवा, गिटी र ग्राभेल झिक्नको लागि नियमपूर्वक टेण्डर प्रक्रिया नगर्दा स्थानीयले नगरपालिका नै घेराउ गरेका थिए। बागमती नदीसँगै जोडिएको समनपुर गाउँका जनताले नगपालिकाले बर्षायाममै गर्न लागेको ठेक्काविरुद्ध आन्दोलनमा उत्रिएपछि नगरपालिका आफ्नो निर्णय सच्याउन बाध्य भएको छ।

गढीमाइ नगरपालिकाले चालु आर्थिक बर्षको लागि प्रारम्भिक वातावरण परीक्षण आईई नै गरी बागमती नदीको मदनपुर, समनपुर, लक्ष्मीपुर र धरमपुर लगायतका घाटबाट खोलाजन्य बस्तुको उत्खनन गर्नका लागि बोलपत्र आह्वान गरेका थिए। गढीमाइले आह्वान गरेको बोलपत्रको ३० औं दिन ठेक्का प्रक्रिया अगाडि बढाउँदै विभिन्न निर्माण कम्पनीका टेण्डर दर्ता गर्न थालेपछि स्थानीय बासिन्दाले नगरपालिका घेराउ गरेका थिए। स्थानीयको विरोधपछि नगरपालिकाका मेयर श्याम प्रसाद यादवले आइतबार नै टेण्डर प्रक्रिया रद्ध गरेका छन्।

गतबर्ष नै ठेक्का भएर जेठ मसान्तमा बन्द भएको नदीजन्य बस्तु गिटी, बालुवा, ग्राभेल निकाल्न गढीमाई नगरपालिकाले गत असार ६ गते टेण्डर आह्वान गरेका थिए। नगरपालिकाले आह्वान गरेका बोलपत्र करिब ६५ बटा विक्री भए पनि आइतवार १२ बजे सम्म मात्रै ११ वटा फर्म दर्ता भएका थिए।

बर्षायाममै गत बर्षकै आईईको आधारमा नियम विपरित ठेक्का लगाइरहेको स्थानीयले चाल पाएपछि नगरपालिकाको समनपुरस्थित कार्यालयलाई घेराउ गरेर होहल्ला एवं चर्को प्रतिवाद गरेपछि बाध्य भएर टेण्डर प्रक्रिया रद्ध गर्नु परेको बताइएको छ। स्थानीय रामपुकार यादवका अनुसार जेठ मसान्तमा खोलाबाट उत्खनन गर्ने कार्य बन्द भएको साता दिन नबित्दै कर्मचारी एवं नपा पदाधिकारीको मिलोमतोमा आफनो मान्छेलाई ठेक्का दिलाउन गोप्य रुपमा टेण्डर गर्न लागेपछि स्थानीय विरोधमा ओर्लिएको बताए। 

नियम कानुन ठाडो रुपमा मिच्दै प्रारम्भीक वातावरण परिक्षण नगराई आफू खुसी खोलालाई उत्खनन् गराउन पल्केका जनप्रतिनिधिहरु र केही कर्मचारीहरुको आर्थिक लोलुप्ताका कारण अहिले आएको विनाशकारी बाढीकै परिणामबाट त्रसित भएका जनताहरु खोलामा जथाभावी रुपमा उत्खनन गर्न नदिने अडान राख्दै नगरपालिकाको कार्यालय घेराउ गरी टेण्डर प्रक्रिया स्थगन गराएको स्थानीय समाजसेवी समेत रहेका दिपु साहले बताए।

गत बर्ष ६७ हजार घनमिटर गिटी बालुवा निकाल्न वातावरण परीक्षण गरे पनि तीन लाख भन्दा बढी उत्खनन गरेर नदीजन्य वस्तुहरुको उत्खनन निकाल्दाको परिणाम नै विनाशकारी बाढीबाट निर्माणाधिन पुलको ३ बटा विम भनै बगाएको तथा दक्षिणी भेगका स्थानीय तह डुवानमा परेको ज्वलन्त उदाहरण देखिए पनि नपा कुनै पाठ नसिकेको हुँदा आफूहरु विरोधमा उत्रिएको अर्का स्थानीय पुनकलीया देवीले बताइन्।

साउन महिनामा प्रारम्भीक वातावरण परीक्षण गर्नका लागि सूचना प्रकाशन गरेपछि विज्ञहरुको टोली आएर परीक्षण गरेर दिएको रिपोर्टको आधारमा बोलपत्र आहवान गर्नुपर्थ्यो। तर, जथाभावी खर्च गरेको हुँदा नगरपालिकामाथि आर्थिक भार थपिएपछि उक्त भार थेग्नका लागि टेण्डर आहवान गरेको स्थानीय भाग्यनारायण तिवारीले आरोप लगाए। 

नगरपालिकाको बार्षिक बजेट २४ करोड रहेको तर नगरपरिषदबाट ४८ करोडको योजना  प्रस्तावना तयार गर्दा नपामाथि आर्थिक बोझ जानी जानी बढाएकोमा आक्रोश व्यक्त गर्दै तिवारीले सिंगो समनपुरबासी मिलेर विरोध गर्दा मेयर श्यामप्रसाद यादवको निर्देशनमा स्थगन भएको उनले बताए।

यसैबीच गाउँलेहरुको एक प्रतिनिधि मण्डलले जिल्ला समन्वय समितिमा टेण्डर रद्ध गराउन लिखित रुपमा उजुरी दर्ता गराएको छ। मेयर श्याम यादवले जनताको चाहना अनुसार ठेक्का प्रक्रिया रद्ध गरेको बताए।  

रौतहट स्थानीय_तह टेण्डर ठेक्का_रद्ध  गढीमाइ_नगरपालिका