समाज

‘रगत, आँसु र पसिनाको अक्षरले लेखेको संविधान पढियोस्’

खोटाङ– ‘२४० वर्षको राजतन्त्र पराजित गर्नका लागि नेपाली जनताले रगत र पसिना मात्र होइन आँसु पनि लगानी गरेको छ। तर, यतीबेला लोकसेवा आयोगले त्यसलाई हेरेन। लोकसेवा आयोगले के पढ्यो कुन्नी मलाई थाहा छैन। तर, नेपाली जनताले लगानी गरेको रगत, आँसु र पसिनाको अक्षरले लेखेको संविधान पढेन’, यो भनाई खोटाङको प्रदेशसभा सांसद राजन राईको हो। शनिबार खोटाङको दिक्तेलमा सञ्चालित लोकसेवा आयोगको परिक्षामा प्रश्नपत्र च्यात्न खोजेकामा चार आन्दोलनकर्मी पक्राउ गरिएको दोस्रो दिन आइतबार प्रदेश संसदको शुन्य समयमा प्रदेशसभा सांसद राईको यस्तो प्रतिक्रिया आएको हो। 

सांसद राईले नेपाली जनताको रगत, पसिना र आँशुले लेखेको अक्षरहरुलाई आगामी दिनमा गम्भीरतापूर्वक पढ्न र कुनै पनि नाममा कुनै पनि किसिमका आन्दोलन हुने अवस्था आउन नदिन लोकसेवा आयोगलाई आग्रह गरे। ‘हामीले निरंकुश राजतन्त्रलाई पराजित गर्नका लागि त्यत्तीकै रगत र पसिना लगानी गरको होइन। त्यसको उद्देश्य नेपाल राष्ट्रको उन्नयन,  नेपाली जनताको उन्नयन, हरेक क्षेत्रमा नेपाली जनताको समान पहुँच पुगोस् भन्ने उद्देश्यका आधारमा त्यी आन्दोलनहरु भएका थिए’, सांसद राईले भने, ‘त्यो १९ दिने जनआन्दोलन, या जनयुद्ध होेस् या मधेश आन्दोलन होस्। तर, लोकसेवा आयोगले त्यो संविधानलाई राम्ररी नपढ्दा खेरी अहिले त्यस्ता किसिमका आन्दोलन भइरहेका छन् । अनुरोध गर्न चाहन्छु , भोलीका दिनमा यस्ता कैफियत नहोस्।’ 

सांसद राईले आयोग विरुद्ध भइरहेका पछिल्ला क्रियाकलाप दल विशेष नभै सामुदायीक र राजनैतिक आन्दोलन भएकाले यसलाई टुंग्याउन राजनैतिक निकास दिनुपर्ने धारणा राखेका छन्। उनले आयोगको प्रश्नपत्र च्यात्न खोज्नु गलत भए पनि त्यसको चुरो कुरो बुझ्नका लागि आग्रह गरे। राईले पक्राउ परेका चारै जनाको रिहाइको माग गरेका छन्। 

प्रकाशित: ५ श्रावण २०७६ १४:३० आइतबार

संविधान लोकसेवा_आयोग कर्मचारी_विज्ञापन