समाज

उत्तरी इराकमा सात जना लडाकू मारिए

बग्दाद– इराकको उत्तरी निनेभे प्रान्तमा इराकी र अमेरिकी गठबन्धन सेनाको संयुक्त सुरक्षा कारबाही तथा हवाई आक्रमणमा इस्लामिक स्टेटका सात जना लडाकूको मृत्यु भएको छ।

इराकी सेनाका अनुसार प्रान्तीय राजधानी मोसुलको दक्षिणमा गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन्। यस्तै, अमेरिकी गठबन्धनले अल–बाजमा गरेको एक अर्को सैनिक कारबाहीमा तीन जना इस्लामिक स्टेटका लडाकू मारिएका छन्। कारबाहीका क्रममा लडाकूहरु लुक्ने १९ वटा गोप्य स्थानहरु पनि ध्वस्त बनाएको छ।

दुबै कारबाहीका क्रममा इस्लामिक स्टेट लडाकूबाट हातहतियार र अन्य सामग्री बरामद गरिएको सेनाले जनाएको छ। इराकमा सुरक्षा व्यवस्था पछिल्ला केही समयदेखि नाटकीय रुपमा सुधार आएको छ। सन् २०१७ को अन्त्यतिर इस्लामिक स्टेट परास्त भएसँगै सुरक्षा व्यवस्थामा सुधार आएको हो। तैपनि इस्लामिक स्टेटले बेलाबखत लुकिछिपी सुरक्षाफौज र नागरिकमाथि सशस्त्र आक्रमण गर्ने गरेको छ।रासस

प्रकाशित: ५ श्रावण २०७६ १०:२१ आइतबार

इराक अमेरिका